राजनीति
कांग्रेस वडा अधिवेशन आजबाट

काठमाडौं,भदौं १८-
कांग्रेसले आज (शुक्रबार)बाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरुआत गर्दैछ। सबै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छैन। त्यसैले कांग्रेस चरणबद्ध वडा अधिवेशनमा जुट्ने भएको छ।
महाधिवेशनको मुखमा पार्टीभित्र अनेक समस्या देखिन थालेका छन्। कोरोना महामारीले महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट परेको छ। र, दलित र मुस्लिम समुदायको प्रतिनिधित्व घटाउने षड्यन्त्र गरिएको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएका छन्। विवादकै कारण क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन।
आजबाट वडा अधिवेशन
कांग्रेसले विधानअनुसार सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन १८ भदौबाट सुरु गरेर २३ गतेभित्र सक्ने गरी तयारी गरेको छ। सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।
जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन्। पौडेलले भने, ‘१८ गतेबाट सुरु गरेर २३ गतेसम्ममा वडा अधिवेशन सक्ने र २७ गतेबाट सुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको छ। सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा धमाधम अधिवेशन सुरु हुन्छ।’ सदस्य तेज प्रसाद रावलका अनुसार कांग्रेसले हालसम्म ६३ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ।
























