Breaking News

अभियुक्त पक्राउपछि तस्करी खुल्यो

Banner

नारायण अधिकारी

चितवन, भदौ १०–

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत वर्षयता तस्करबाट पाँच वटा गैँडा मारिएको भनिए पनि अभियुक्त पक्राउसँगै थप तीन गैँडा मारिएको खुल्न आएको छ । निकुञ्जले पछिल्लो समय ३० अभियुक्त पक्राउ गरेसँगै उनीहरुको बयानबाट थप तीन वटा गैँडा मारेको खुल्न आएको हो । निकुञ्ज क्षेत्रमा तस्करले थप गैँडा मारेको हुनसक्ने आशङ्कासँगै सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण जारी गरिएको निषेधाज्ञासँगै निकुञ्ज क्षेत्रमा तस्कर गिरोह सक्रिय भएको पाइएको छ । यससँगै निकुञ्ज प्रशासनसहितका विभिन्न सुरक्षा निकाय तस्करी नियन्त्रणमा सक्रिय भएका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गत वर्षको वैशाखदेखि भदौसम्म निकुञ्जभित्र तस्करले गैँडा मारेको खुल्न आएको बताउनुुभयो । निकुञ्जको आइल्याण्ड क्षेत्रमा गत वर्षको कात्तिक १८ गते एउटा, २१ गते दुुई वटा र मङ्सिर १ गते एउटा गैँडा मारिएका अवस्थामा भेटिएको थियो । कात्तिक २१ गते भेटिएका माउ बच्चा हुन् । ती दुुई वटा र मङ्सिर १ गते कङ्कालमात्रै भएको गैँडा खागखुरविहीन थिए । कात्तिक १८ गते मारिएको गैँडाको टाउकामा गोली लागेको भए पनि खाग खुर सुरक्षित थियो ।

त्यसैगरी विसं २०७६ भदौमा सोही आसपास क्षेत्रमा एउटा गैँडाको कङ्काल भेटिएको थियो । माडीको घाँघर पश्चिममा गएको साउन ११ गते एउटा गैँडा खाग काटिएको अवस्थामा भेटिएको थियो । घाँघरकै दक्षिणपूर्व अर्को गैँडाको कङ्काल मात्रै भेटिएको थियो । साउन ११ गते भेटिएको गैँडा तस्करबाट मारिएको भनिए पनि दक्षिणतर्फ भेटिएको कालगतिले मरेको हुनसक्ने आशङ्का गरिएकामा अभियुक्त पक्राउसँगै तस्करीबाट मारिएको खुल्न आएको बरालको भनाइ छ ।

अभियुक्तले सो गैँडाको टाउको कुहिएपछि खाग झिकेको अनुमान गरिएको छ । डुमरिया क्षेत्रमा अर्को एउटा गैँडा मारेर खाग लगेको पक्राउ परेकाको बयानमा उल्लेख छ । सो क्षेत्रमा मृत शरीर भने हालसम्म फेला परेको छैन ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकाको बयानका आधारमा माडीमा एउटा, डुमरियामा एउटा र आइल्याण्ड क्षेत्रमा एउटा गैँडा गरी थप तीन वटा गैँडा तस्करले मारेको खुल्न आएको हो । यससँगै गत वर्षयता हालसम्म तस्करले आठ वटा गैँडा मारेको उहाँले जानकारी दिनुुभयो ।

निकुञ्जको तथ्याङ्कमा गत वर्ष चार वटा र यस वर्ष एउटा मात्रै गैँडा तस्करले मारेको उल्लेख छ । यस वर्ष प्राकृतिक कारणले हालसम्म छ वटा गैँडा मरिसकेका छन् । अधिकारीको भनाइमा तस्कर पक्राउ पर्दै जाँदा मारिएका गैँडाको सङ्ख्या बढ्दै गएको छ । कतिपय तस्करले मारेका गैँडाको हाडखोरसमेत नभेटिएको हुनसक्ने आशङ्कामा निकुञ्जका शङ्कास्पद क्षेत्रमा सुरक्षा अवस्थालाई कडाइ गरिएको उहाँ बताउनुहुन्छ ।

गत वर्ष गैँडा मारिएसँगै निकुञ्जले यसअघि तस्करीमा लागेकालाई निगरानीमा राखेर अनुसन्धान गरेको थियो । सो क्रममा कारागारमा रहेकालाई समेत अनुसन्धान गरी अभियुक्त पक्राउ गर्न सफल भएको हो ।

प्रमुख संरक्षण अधिकृत बरालले तस्करीका लागि रासनपानी बोक्नेदेखि बिक्री गर्नेसम्मका गिरोह पक्राउ गर्न सफल भएको बताउनुभयो । थप अभियुक्त नजिक पुगेको उहाँले बताउनुभयो ।

पछिल्लो समय पक्राउ परेका उच्च तहमा पहुँच भएकासमेत छन् । नेपाल प्रहरीको घुमुवालाई समेत पक्राउ गर्न सकिएको भन्दै उहाँले जो कोही भए पनि नछाडिने बताउनुभयो । यो निकुञ्जमा देशकै सबैभन्दा बढी गैँडा रहेको छ । गत वर्षको गणनामा नेपालमा ७५२ गैँडा भेटिएकामा यहाँ मात्रै ६९४ रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>