कर्णाली
डोरीले बाँधेर बालक कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

जाजरकोट,साउन २१-
डोरीले बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका वडाध्यक्ष नेपालीलाई सदरमुकामतर्फ ल्याउने काम भइरहेको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्द पाण्डेले बताए । घटनास्थल सदरमुकामबाट करिब ८० किलोमिटर टाढा भएकाले सदरमुकाम पुग्न केही समय लाग्ने पाण्डेले बताए।
‘पीडितलाई पनि बोलाएका छौं। यस घटनालाई प्रहरीले गम्भीररुपमा लिएको छ । घटनाको छानवीन गरी कारवाही प्रक्रिया अघि बढ्छ,उनले भने। वडाध्यक्ष नेपालीको धम्की र डरकै कारण सर्पेले अहिलेसम्म घटनाबारे कतै उजुरी दिएका छैनन् । गत साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा भ्रष्टाचार गर्न पाइदैन भन्दै जाँड खाएर होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले सोही ठाउँका सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए।



























