Breaking News

बागमती प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने क्रम अझै घटेन, एक वर्षमै २४ करोड राजश्व संकलन

०
Banner

चितवन, साउन २–

बागमती प्रदेशमा अझै पनि ट्राफिक नियम उल्लंघन गर्ने क्रम घटेको छैन । ट्राफिक प्रहरीले कडा कारवाही र चेकजाँच गर्दै आएपनि सवारी नियम उल्लंघ गर्ने क्रम घट्नुको साटो झनै बढेर गएको छ ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगर चितवनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सवारी कारवाहीमा ७१.३६ प्रतिशतले बढेको छ । जसले गर्दा ट्राफिक प्रहरीको राजश्वमा पनि वृद्धि भएको छ । कारवाही संख्या बढेसंगै १२५.३४ प्रतिशतले राजश्वमा वृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा सवारी नियम उल्लंघन गरे बापत २४ करोड ७४ लाख ४१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । जसमध्ये सबैभन्दा धेरै ओभर लोड बोकेका सवारी कारवाहीबाट ७ करोड २० लाख ६१ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

त्यस्तै सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना नै सवारी चलाउने चालकबाट कारवाही स्वरुप २ करोड ६५ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी कारवाहीबाट एक हरोड २५ लाख २१ हजार, प्रयोजन विपरीत संचालन भएका सवारी कारवाहीबाट एक करोड ७५ लाख ६ हजार रुपैयाँ राजश्व संकलन भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा सवारी नियम उल्लंघन गरे बापत १० करोड ९८ लाख ६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो । यसवर्ष सवारी कारवाहीलाई तिव्रता दिएकाले पनि राजश्व संकलनमा वृद्धि भएको बागमती प्रदेश ट्राफिक प्रहरीका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

सवारी नियम उल्लंघन गर्ने सवारीको संख्या पनि बढ्दो क्रममा रहेको र कारवाही पनि धमाधम गर्न थालिएकोले कारवाही प्रतिशत पनि बढेको कोइरालाले बताए । उनले सवारी नियम उल्लंघन गर्नेको संख्यामा कमी ल्याउन चेकजाँचसंगै जनचेतना मुलक कार्यक्रमलाई पनि प्राथमिकतामा राखिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>