Breaking News

खैरहनी नगरपालिकाको नीति तथा कार्यक्रमः कोरोनाले राजस्वमा सहुलियतदेखि अनलाइन भुक्तानीसम्म

Banner

ध्रुवराज  खनाल

 चितवन, असार ७

चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरवासीले आफूले तिर्नु पर्ने करबारे पूर्वजानकारी समेत गराएर विद्युतीय भुक्तानी (इपेमेन्ट ) सेवाको विस्तार गर्ने नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । सेवाग्राहीको सहजताका लागि कर तिर्न यस्तो सेवा विस्तार गर्ने नीति लिइएको नगर प्रमुख लालमणि चौधरीले बताए । कोभिड १९ महामारीको वढ्दो प्रभावलाई मध्यनजर गर्दै राजस्वमा छुट र सहुलियतको व्यवस्था, आन्तरिक आय परिचालनमा सुधार ल्याउन र राजस्व प्रक्षेपणलाई यथार्थपरक र वैज्ञानिक बनाइ, बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित गर्न खैरहनी नगरपालिकाको राजस्व सुधार कार्ययोजना तर्जुमा गरी अघि बढाइने, राजस्वका विभिन्न विधाका असल करदातालाई प्रोत्साहन र पुरस्कृत गर्ने कार्यक्रम सञ्चालनमा ल्याइने नगर प्रमुख चौधरीले बताए ।

नगरपालिकाले सुशासन तथा संस्थागत विकासका लागि नागरिकको चासो र गुनासोलाई तत्काल सम्बोधन गर्ने वातावरण बनाउने जनाएको छ । चासो र गुनासो सुन्ने मात्र नभई नगरपालिकालाई सबैभन्दा उत्तम र रचनात्मक सुझाव प्रदान गर्ने नगरवासीलाई पुरस्कृत गरिने नगर प्रमुख चौधरीले बताए । नगरपालिकाको स्वीकृत दरबन्दीमा रहेर कार्यरत एक वर्ष व्यतित भएका अस्थायी र करार सेवाका कर्मचारीहरुका लागि कल्याण कोष स्थापना गरी उपदानको व्यवस्था गरिने, त्यस्ता कर्मचारीहरुलाई स्थायी कर्मचारीहरुले पाए सरहको सुत्केरी बिदा, सुत्केरी स्याहार बिदा, किरिया बिदालगायतको व्यवस्था गर्ने, पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकारहरुको हकहितको प्रर्वद्धन र क्षमता अभिवृद्धिमा सघाउ पु¥याउने किसिमका कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले लिएको नीति तथा कार्यक्रममा उल्लेख छ । कोभिडको महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुका साथै कृषकको उन्नति तथा विकासका लागि कृषि र पशुपालनको क्षेत्र, उद्योग तथा वाणिज्यको क्षेत्रलाई पनि प्राथमकिता दिने जनाइएको छ । सो अवसरमा नगर प्रमुख चौधरीले संघीय सरकारले स्थानीय तहमा सुरु गरेको स्वमूल्यांकनमा खैरहनी नगरपालिकालाई जिल्लाकै प्रथम बनाउन सहयोगी भूमिका निर्वाह गर्ने जनप्रतिनिधिहरु, वर्तमान र पूर्वकर्मचारीहरुलगायत सम्पूर्ण नगरबासीमा धन्यवाद दिँदै आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा रहेको बताए ।

नगर सभामा आर्थिक विकास समितिको तर्फबाट संयोजक कारीराम चौधरी,सामाजिक विकास समितिबाट संयोजक मनेजर महतो, सार्वजनिक सेवा तथा क्षमता विकास समितिबाट संयोजक टिकादत्त इटनी, पूर्वाधार समितिबाट संयोजक होमकुमार पुन, लेखा समितिबाट संयोजक टिकाराम तिमिल्सिना, वन,वातावरण तथा विपद् व्यवस्थापन समितिबाट संयोजक भूमिप्रसाद कँडेल, विधायन समितिबाट संयोजक देवबहादुर बस्नेत र न्यायिक समितिबाट सदस्य गोमादेवी भुजेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम र प्रतिवेदनमाथि थप छलफल गर्न असार १० गते सम्मका लागि समय दिई नगर सभा सोही दिन सम्मका लागि स्थगित गरिएको छ । असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>