चितवन विशेष

नारायणीको बाढीले चितवनमा सयौं घर डुबानमा, महानगर प्रमुख दाहाल डुबानग्रस्त क्षेत्रको अवलोकनमा

Banner

चितवन, असार २-

नारायणी नदीमा पानीको सतह ४० वर्ष यताकै सबैभन्दा उच्च भएर नदी किनारका सयौं घर डुबानमा परेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल डुबानग्रस्त क्षेत्रको अवलोकनको लागि विभिन्न ठाउँमा पुगेकी छन् । भरतपुर महानगरपालिकाको वडा नं. २६ स्थित नारायणी नदी छेउछाउ रहेको बस्तीहरु सिसही, सिम्रेनी क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उनले नदीबाट हुनसक्ने कटान र डुबानबाट सजग र सतर्क रहन आग्रह गरेकी हुन् ।

लगातार वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरुलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा आग्रह गरेकी छन् । उनले भनिन् ‘लगातार वर्षा भइ रहेको छ, नदीको बहाव पनि बढिरहेको छ । सम्पूर्ण सूरक्षा निकाय, वडा कार्यालय तथा भरतपुर महानगरपालिकाको बिपत् ब्यवस्थापन प्रतिकार्य इकाइलाई समन्वयात्मक ढंगले परिचालित भई नियन्त्रण तथा उद्धारमा खटिन तयार रहनु्स् ।’ उनले भरतपुर महानगरपालिका भित्र संभाबित डुबान तथा कटानबाट हुन सक्ने क्षतिलाई रोक्न हर सम्भव लागिपर्ने बताउँदै सोही अनुसार काम गर्न सबैलाई आग्रहसमेत गरिन् । प्रमुख दाहालले ज्येष्ठ नागरिक, बालबालिका तथा अपाड्गता भएका समुदाय तथा गर्भवती महिलाहरूको विशेष ख्याल गर्न समेत आग्रह गरेकी छन् ।

स्थलगत अनुगमनका क्रममा प्रमुख दाहालले सम्बन्धित जोखिम क्षेत्रका टोल सुधार समिति, यूवा क्लबहरूलाई प्रतिकार्यमा परिचालन गर्न वडाअध्यक्षहरूलाई निर्देशन दिएकी छिन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले समन्वयात्मक ढंगले संभाबित क्षति रोक्न र उद्धारका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा राखेर काम अगाडि बढाएको बताए । नारायणी नदीको उच्च बहाबले भरतपुर महानगरपालिका वडा न २६ को सिसुवारमा डुबानमा परेका १६ धर परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अघ्यक्ष ज्ञानप्रसाद खनालले बताए।

यस्तै, वडा नं. १६ को झनझने, गणेश मन्दिर र बिजय नगरको मगरगाँँउको छेउछाउमा करिब १०० घर डुबानमा परेको र तिनीहरूलाई शरणपुर आधारभूत विद्यालय र अन्य सुरक्षित स्थानमा राखियको वडा अध्यक्ष अमृत हमालले बताए । बाढीले वडा न ३ को नारायणी दोभान टोलमा रहेको चक्लेट उद्योग वरीपरीका ५० घर डुबेसँगै त्यहाँ आश्रित स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष चन्द्र मित्र पण्डितले बताए । देवघाट मापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह ९ पुगे खतरा मानिन्छ ।

मंगलबार रातिसम्म खतरा भन्दा माथि रहेको पानीको सतह आज बिहान ७ः२० देखि खतरा भन्दा तल झरेको छ । बाग्लुङ, पर्वत, गुल्मी तथा कास्की, लमजुङ, गोर्खा, धादिङलगायतका पहाडी जिल्लामा अविरल पानी परिरहेकोले पानीको सतह पुनः खतरा सम्म जान सक्ने भन्दै अझैं केही दिन सजग र सतर्क रहन मौसम बिभागले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>