Breaking News

बाढी, पहिरो नियन्त्रणमा के छ पूर्वी चितवनका स्थानीय तहको तयारी ?

Banner

ध्रुवराज खनाल,

चितवन, असार १–

मनसुन सुरु भएपछि संभावित बाढी पहिरोबाट हुन सक्ने प्रभाव न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको पूर्वी चितवनका स्थानीय तहले जनाएका छन् । पूर्वी चितवनका राप्ती, खैरहनी, रत्ननगर र कालिका नगरपालिका छन् । राप्ती र कालिका नगरपालिका बाढीसहित पहिरोको उच्च जोखिम रहेको क्षेत्र हो । खैरहनी र रत्ननगर समथर भुभाग रहेकाले बाढी र डुबान हुने क्षेत्रमा पर्छ । यी चार पालिकाहरुले विपदसंग जुध्न आफुहरु तयारी अवस्थामा रहेको बताएका छन् ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी मनसुनपछि आउन सक्ने बाढी र हुन सक्ने डुबानमा आफूहरु चनाखो रहेको बताउँछन् । बाढीको पूर्व तयारी स्वरुप उद्धार सामग्री र कटान रोक्न तारजाली, ढुंगा तयारीमा अवस्थामा रहेको प्रमुख चौधरीले बताए । ‘निरन्तर पानी परिरहेकाले नगरबाट विपदको टिमले अनुगमन गरिरहेको छ’ नगर प्रमुख चौधरीले भने ‘बाढी र कटान हुन सक्ने क्षेत्रमा रोकथामका लागि तयारी छौ, उद्धार सामाग्री समेत छन् ।’

खैरहनी क्षेत्र भित्र राप्ती नदि, कयर खोला, पम्फा, लदरा, बुढीराप्ती, च्यात्रा खोला रहेका छन् । खैरहनी नगरपालिकाले मनसुन सक्रिय भएको अवस्थामा हुन सक्ने क्षतीबाट बच्न र सजगता अपनाउन नगरबासीहरुमा आग्रह गरेको छ । खोलामा पानी बहाव, संभावित डुबान, कटान हुन सक्ने क्षेत्रको बारे समयमै सूचना प्रवाह गरेर सहयोग गरिदिन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

राप्ती नगरपालिका बाढी र पहिरोको जोखिम नगरपालिका हो । बाढी र पहिरोको जोखिम क्षेत्र भएकाले उद्धारका लागि तयारी अवस्थामा रहेको नगर प्रमुख प्रभा बरालले बताईन् । उद्धारका लागि डोरी,ट्युव,लाईफ ज्याकेट लगायत हाते औजारको नगरपालिकाले व्यवस्था गरेको बरालले जानकारी दिईन् । नगरको ४ वटा वडा पहिरोको जोखिम क्षेत्रमा पर्छ । राप्ती १०,११,१२ र १३ पहिरोको जोखिम क्षेत्र हो । अहिले सम्म ती क्षेत्रबाट पहिरो गए÷नगएको जानकारी नआएको प्रमुख बरालले बताईन् ।

पूर्वी चितवनको ठूलो नगरपालिका रत्ननगर नगरपालिका बाढी र डुवानमा पर्ने नगरपालिका हो । राप्ती,कयर, बुढी राप्ती लगायतका खोला पर्छन् । ती खोलाबाट हुन सक्ने क्षती न्यूनीकरणका लागि रत्ननगर नगरपालिकाले आवश्यक तयारी गरिरहेको नगर प्रमुख नारायण वनले बताए ।

उता कालिका नगरपालिका पनि बाढी र पहिरोको जोखिममै रहेको नगरपालिका हो । कालिकाको वडा नम्वर ९,१० र ११ पहिरोको जोखिम रहेको वडाहरु हुन् । बाढी र पहिरोबाट हुन सक्ने संभावित क्षती नियन्त्रणका लागि नगरपालिकाले सवैसंग सहकार्य गरेर तयारी अवस्थामा रहेको नगर प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । उद्धारका लागि सामाग्रीहरु तयारी अवस्थामा रहेको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>