कर्णाली
सुर्खेतमा ज्ञानेन्द्र शाही समुहले मापसे गरी हमला गरेको भन्दै स्थानीयको धर्ना

काठमाडौ,जेठ ३०-
शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगरस्थित करेखोलामा भएको झडपको विषयलाई लिएर स्थानीय आन्दोलित बनेका छन् । ज्ञानेन्द्र शाहीको समुहले मदिरा सेवन गरेर स्थानीयलाई कुटपिट गरेको र शाहीले उल्टै आफुहरुलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी गरेको र त्यसलाई आधार बनाइ प्रहरीले स्थानीय मजदुरलाई पक्राउ गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।
स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन् । पक्राउ परेका स्थानीयलाई रिहा नगरे थप कडा आन्दोलन थालिने पनि स्थानीयले चेतावनी समेत दिएका छन् । शाहीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा समेत मापसे गरेको जस्तो देखिँदा पनि प्रहरीले चेकजाँच नगरेर स्थानीयलाई मात्र पक्राउ गरेको उनीहरुले बताएका छन् ।
‘सर्वसाधारण जनतालाई भएको भए मापसे चेकजाँच गरी अनुसन्धान गरेर कारबाही अगाडी बढाइन्थ्यो,’ एक स्थानीयले भने, ‘तर, यहाँ शाही समूहलाई प्रहरीले कुनै अनुसन्धान नै नगरेर स्थानीयलाई मात्र पक्राउ गरियो । यो निन्दनीय छ ।’
यता प्रहरीले भने यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । शुक्रबार राति ११ बजेतिर भएको उक्त, झडपमा परी दुबै पक्षका युवाहरु घाइते भएका थिए भने प्रहरीले स्थानीय पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।


























