देश/प्रदेश
सीता उत्पत्ति दिवस (जयन्ती) मनाइँदै

काठमाडौँ, जेठ ६–
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजय प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सीताको सम्झना गरिन्छ ।
अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव र कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । अयोध्यामा आएका लव र कुशले रामायणको कथा सुनाई सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।
























