देश/प्रदेश
पूर्वराजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त, अवस्था सामान्य

काठमाडौँ, वैशाख २७-
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । नर्भिक अस्पतालमा उपचार गराइरहेका शाहको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।
रिपोर्ट नेगेटिभ आए पनि शाहलाई अक्सिजनको सहायतामा उपचार जारी राखिएको थियो । तर, अहिले स्वास्थ्यमा सुधार आएपछि अक्सिजन दिन छाडिएको नर्भिक अस्पतालले जनाएको छ । शाहको अवस्था अहिले सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।
यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।
यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।
























