Breaking News

टिकौलीमा न्युरो बेच्ने महिलाको गुनासो : वन रक्षकहरुले सित्तैमा लैजान्छन् तरकारी

Banner

मनिका विश्वकर्मा

चितवन, वैशाख २७-

साइकलको पछाडि प्लास्टिकको झोलामा सागसब्जी लिएर गीता श्रेष्ठ कोठाबाट निस्किन्छिन् । उनलाई रोगको चिन्ताले भन्दा पनि भोकको चिन्ताले हरेक दिन सताउने गर्छ । चितवनमा वैशाख १६ गतेदेखि निषेधाज्ञा भएपछि गीताको परिवारलाई बिहान बेलुका छाक टार्न समस्या परेको छ ।

निषेधाज्ञा नहुँदा उनी कोठा नजिकै ठेलामा तरकारी बिक्री गर्थिन् । भरतपुर महानगरपालिकाको केन्द्रीय बस पार्क नजिकै उनी कोठा भाडामा परिवारसँगै बस्छिन् । निषेधाज्ञाले एकातिर उनलाई परिवारको गुजारा गर्न गाह्रो परिरहेको छ भने अर्काेतिर तरकारी बिक्री पनि हुन सकेको छैन । साह्रै समस्या भएकोले गीता अहिले साइकलमा तरकारी बेच्न बाध्य भएकी हुन् ।

ठूलो सहर त्यही माथि फराकिलो बाटोहरु सबै खाली देखेर गीताको मन कहिले उथलपुथल हुने गर्छ । बिहान बेलुका तरकारी बिक्री गर्न नपाएपछि गीता पनि टिकैली जंगलको राजमार्ग छेउमा साइकलमा तरकारी राखेर पुग्छिन् । पहिलो दिन जान डर लागिरहेको भए पनि सुरुको दिनमा नै उनको तरकारी बिक्री भएपछि त्यहाँ जानु अहिले उनको दैनिकी जस्तै बनेको छ । दिनको २० देखि २५ रुपैयाँ किलोमा नाफा हुनेमा पनि केही व्यक्तिहरुले पदको धाक लगाएर धम्काएर तरकारीहरु सित्तैमा लगिदिने गरेको उनले बताइन् । सेनाको जस्तो पहिरन लगाएकाहरु काधँमा बन्दुक भिरेकाहरु एक मुठा साग नदिए तरकारीहरु उठाइ दिने भन्दै पदको धाक लगाउँदै दिनमा दुईतीन चोटी तरकारी सित्तैमा लैजाने उनले नारायणी अनलाइनलाई बताइन् ।

गीताको जस्तै पीडा अन्य व्यवसायीहरुको पनि छ । सिलसिला तामाङ पनि गीतासँगै तरकारी बिक्री गर्न आउँछिन । चितवनमा व्यापार व्यवसाय गर्ने अर्थात् किराना पसललाई बिहान ९ बजे सम्म खुल्न दिएको छ । तर, उनीहरुलाई भने ठेलामा तरकारी बेच्न बन्देज गराएको छ । त्यसैले पनि उनीहरु यसरी राजमार्गमा आएर तरकारी बिक्री बितरण गरिरहेको बताउँछन् । सवारी साधनमा हिड्ने व्यक्तिले तरकारी किनिदिने भएकोले नै उनीहरु राजमार्गमा आएको बताउँछन् । बिडम्बना दुई पैसाको लागि जोखिम मोलेर उनीहरु तरकारी बिक्री गर्न जान्छन् तर केही व्यक्तिहरु पैसा नै नतिरिकन उनीहरुको तरकारी सित्तैमा लगिदिन्छन् । थोरै रकम भए पनि दिनोस् भनेर माग्दा पनि उनीहरुले तरकारी सबै उठाइदिने भनेर निषेधाज्ञाको फाइदा उठाइरहेको सिलसिलाले बताइन् । प्रहरीले बरु बढी रकम थपेर सब्जीहरु किनेर लैजाने उनले बताइन् ।

यस्तै शान्ता गोले पनि तरकारी बिक्रीको लागि राजमार्गमा आउने गर्छिन् । बालबच्चा सानै रहेका शान्ताकी श्रीमानले पनि बिरामी भएर काम गर्न सक्दैनन् । उनी पनि कन्द्रीय बसपार्कमा कोठा भाडामा नै बस्छिन् । आर्थिक अवस्था कमजोर भएको कारण नै उनीहरु यसरी सडकमा तरकारी बेच्न बाध्य भएका हुन् । उनीहरु निषेधाज्ञा भएपछि नै राजमार्गमा आएर तरकारी बेच्न थालेका हुन् ।

नेपाल भूतपूर्व सैनिक प्रहरी संगठनका ईन्द्रप्रसाद न्यौपानेका अनुसार निषेधाज्ञाको बेला कुनै पनि सेनालाई बाहिर खटाइएको छैन । सेनाहरुलाई बाहिर खटाइए पनि उनीहरु यस्तो काम कहिले नगर्ने न्यौपानेले बताए । सेनाको पोशाक र वन रक्षकको पोशाक एउटै खालको देखिने भएकोले मान्छेहरु वन रक्षकलाई सेना मानेर झुक्किने उनले बताए । कोरोनाको समयमा सेनालाई व्यारेग भित्रै नै राखिएको उनले जानकारी दिए ।

जिल्ला वन कार्यालयका अध्यक्ष पदमराज नेपालका अनुसार चितवन जिल्लाभरीमा २२ जना सशस्त्र वन रक्षकहरु परिचालन गरिएको छ । उनीहरुको पोशाक सेनाको जस्तै हुने नेपालले बताए । वन रक्षकहरुले नै राजमार्गमा निषेधाज्ञाको समयमा रेखदेख गर्न जिम्मा दिइएको छ । वन रक्षकहरुको काम भनेको वनको सुरक्षा गर्ने काम रहेको उनले बताए । यदि उनीहरुले यो काम गरेको भए वन रक्षकहरुलाई सम्झाउने बुझाउने काम पनि गर्ने नेपालले जानकारी दिए ।

वन रक्षक आउने डरले साइकलमा तरकारी राख्दै

राजमार्गको दाहिने सडक छेउमा तरकारी बेच्दै महिला

 

राजमार्गको दाहिने सडक छेउमा तरकारी बेच्दै महिला

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>