लुम्बिनी
गुल्मीमा एन्टिजेन्ट कीटको अभाव
गुल्मी,वैशाख २३-
तम्घास– गुल्मीमा कोरोना परीक्षणका लागि एन्टिजेन्ट किट अभाव भएको छ । लुम्बिनी प्रदेशबाट आएको दुई हजार किट सकिन थालेसँगै जिल्लामा किट अभाव भएको हो ।
प्रदेश सरकारले तम्घास अस्पताल र स्वास्थ्य कार्यालयका लागि पठाएको किट गुल्मीको स्वास्थ्य कार्यालयले महामारीलाई मध्यनजगर गर्दै पालिकालाई पनि प्रदान गरेको थियो । ती पालिकाले अहिलेसम्म किट खरिद गरेका छैनन् भने स्वास्थ्य कार्यालयसँग खरिद गर्ने बजेट अभावका कारण किट अभाव भएको छ ।
स्वास्थ्य कार्यालयले मुसिकोटलाई २५०, धुर्कोट, रुरुक्षेत्र र मदानेलाई दुई÷दुई सय किट उपलब्ध गराएको थियो । अन्य पालिकाका लागि २५ देखि ७५ किट स्वास्थ्य कार्यालयले उपलब्ध गराएको छ भने तम्घास अस्पतालका लागि ७०० किट उपलब्ध गराएको छ । त्यसमध्ये छत्रकोटमा किट सकिएको छ । स्वास्थ्य कार्यालयमा अब १२५ किट मात्रै बाँकी छ ।
तम्घास अस्पतालमा दैनिक ५० किटसम्म खर्च हुन्छ । यही अवस्था निरन्तर रहिरहे बढीमा तीन दिनमा किट सकिने स्वास्थ्य कार्यालयका प्रमुख डा भवानी शर्माले बताउनुभयो । अब पालिकालाई किट आवश्यक परे आफँै खरिद गर्न पालिकालाई पत्राचार गरिएको शर्माको भनाइ छ ।
आफूहरुले प्रदेश सरकारसँग किटको माग गरे पनि आउने कुनै निश्चित नभएको शर्माले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहले आफँै खरिद गर्नुपर्ने र संयोजन स्वास्थ्य कार्यालयले गर्ने बताउनुभयो ।
अस्पतालका सन्दर्भमा नगरपालिकाले खरिद गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रशासनको विपत्को रकमबाट किट किन्न नमिल्ने र पालिकाले आफैँ खरिद गरेर प्रयोग गर्नुपर्ने बताउनुभयो । मालिका गाउँपालिकाका स्वास्थ्य अधिकृत वसन्तराज भुसालले एन्टिजेन किटभन्दा पनि पिसिआर ल्याब सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।


























