प्रदेश २
भारतबाट ल्याएको ८ महिना बित्दापनि खुलेन रेलको ‘घुम्टो’
काठमाडौं,बैशाख २२-
भारतबाट ल्याएको ८ महिना बित्न लाग्दा पनि पालले छोपिएका दुईवटा रेल सेटले अझै ‘घुम्टो’ खोल्न पाएका छैनन् । कहिले कानुन त कहिले कर्मचारी अभाव देखाएर सञ्चालन रोकिएको बताइए पनि कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै रेल सञ्चालनमा झन् अन्योल थपिएको छ ।
जयनगर–जनकपुर खण्डमा अब कहिले रेल सञ्चालनमा आउने हो, टुंगो नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
केही समयअघिसम्म रेलमा काम गर्ने कर्मचारीलाई तालिम दिने काम भइरहेको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बताए । ‘१० दिन जति तालिम भएको थियो,’ उनले भने, ‘जनकपुरमा पनि लकडाउन हुने भएपछि तालिम रोकेका छौं ।’ रेलमै काम गर्ने भारतीय प्राविधिक कर्मचारी आएर तालिम दिएका हुन् ।
‘जीवनभन्दा ठूलो केही पनि होइन,’ उनले भने, ‘त्यसैले अहिलेको अवस्थामा रेल चलाउने कुरै भएन ।’ उनका अनुसार कर्मचारी तयार भए पनि कानुनबिना रेल चलाउन सकिन्न । ‘हामीलाई रेल चलाउने ऐन चाहिएको छ,’ उनले भने, ‘अध्यादेश ल्याएर भए पनि रेल चलाउन सकिन्छ, त्यसका लागि गत फागुनमै मन्त्रिपरिषद्मा पठाएका हौं, अहिलेसम्म स्वीकृत हुन सकेको छैन ।’