देश/प्रदेश

पत्रकारद्वय अनिश र दुर्गालाललाई तत्काल निःशर्त रिहा गर्न माग

Banner

काठमाडौँ, वैशाख १२–

नेपाल पत्रकार महासङ्घले पत्रकारद्वय अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रिहा गर्न माग गरेको छ । उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आज प्रहरीले गिरफ्तार गरेको घटनाप्रति भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेको छ ।

पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुङ्गो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनी पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको थियो । साथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ । ‘यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संवैधानिक व्यवस्था माथिकै ठाडो हस्तक्षेप भएको महासङ्घको ठहर छ, त्यति मात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट भएको छ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको ।

महासङ्घले समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टि जनाउने त्यसका निश्चित विधि र प्रक्रिया भएको जनाउँदै त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भनेको छ । प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकारद्वयलाई तत्काल रिहाइ नगरिए आन्दोलनमा जान बाध्य हुनेसमेत महासङ्घको भनाइ छ ।
यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघले पनि एक विज्ञप्ती जारी गर्दै तत्काल रिहाइको माग गरेको छ । सचिव मिलन लिम्बुद्धारा जारी विज्ञप्तीमा सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई विना सर्त रिहा गर्न र खोसिएका संचार सामग्री फिर्ता गर्न माग गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>