Breaking News

भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

Banner

चितवन, वैशाख ८–

चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ । अस्पतालहरुमा कोरोनाका बिरामी भरिन थालेका छन् ।

अस्पतालहरुमा मानिसहरुको बढी भिडभाड हुने भएकाले अस्पताललगायत स्वास्थ्य संस्था नै अहिले कोरोनाको बढी जोखिममा छ ।
यही अवस्थालाई मध्यनजर गर्दै भरतपुर अस्पतालले अति आवश्यक परेमा मात्रै अस्पताल आउन आमसर्वसाधरणमा अनुरोध गरेको छ । अस्पतालले बुधबार एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेको छ ।

अस्पतालका निमित्त मेसु डा.जगन्नाथ तिवारीले अस्पतालमा धेरै भिडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भएकाले अति आवश्यक अवस्थामा मात्र अस्पताल आउन अनुरोध गरिएको बताए । उनले कोभिड–१९ संक्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकोले अहिले नै सचेतना अपनाईएको बताए ।

अस्पतालमा सेवा लिन आउँदा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने) अनिवार्य पालन गर्न सर्वसाधरणमा अनुरोध गरेको छ ।

चितवनमा पछिल्ला दिन कोरोनाको ग्राफ बढ्दो छ । पछिल्लो २४ घण्टामा चितवनमा थप २० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १८, माडी र रत्ननगर नगरपालिकामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म चितवनमा संक्रमितको संख्या ७ हजार १४९ पुगेको छ । जसमध्ये ६ हजार ८२५ जना निको भएका छन् भने ११४ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>