Breaking News
हरेक जन्मदिनमा पिपलको विरुवा रोप्ने चितवनका सांसद विजय सुवेदी

चितवन,चैत ५-
चितवनका प्रदेशसभा सांसद विजय सुवेदीले जन्मदिनमा बृक्षारोपण गरेका छन् । आफ्नो ५८ औं जन्मदिनको उपलक्ष्यमा उनले आज (बिहिबार) भरतपुर महानगरपालिका ५ मा रहेको उग्र्यान न्होर्बु छ्योलिङ गुम्बामा पिपलको विरुवा रोपेका हुन् । हरेक बर्ष आफ्नो जन्मदिनमा रचनात्मक काम गर्दै आएका सुवेदीले यसबर्ष पनि निरन्तरता दिएका छन् । उनले प्रत्येक बर्ष जन्मदिनमा पिपलको विरुवा रोप्ने गरेका छन ।

उनले गुम्बामा आएर पिपलको विरुवा रोप्न पाउँदा खुसी लागेको बताए । उनले भने,‘मैले यसै विषयमा स्नाकोत्तर गरेको छु । यो धर्मको बारेमा मैले धेरै कुरा सिक्ने अवसर पाएको छु ।’ सुवेदीले पिपलको विरुवाले धेरैको जीवन स्वच्छ बनाउने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उनले बताए । ‘पिपलले अक्सिजनसंगै छाहारी र सितलता दिन्छ,यसबाहेक अरु विरुवा रोप्दा फलफूलका विरुवा रोपौं’,उनले भने । जन्मदिनमा अरुलाई उपहार दिँदा पनि फलफुलका विरुवा दिन सांसद सुवेदीले आग्रह गरे । आफ्नो जन्मदिनमा मात्रै सबैले विरुवा रोप्यौ भने सबैतिर हरियाली हुने उनको भनाई छ ।
सो गुम्बामा रहेको पाठशालामा ८ जना विद्यार्थी बौद्ध शिक्षा अध्ययन गरिरहेका छन । प्रदेश प्रदेश सरकारको तर्फबाट पाठशाला निर्माणका लागि १० लाख रुपैंया विनियोजन गरेको सांसद सुवेदीले बताए ।

यसअघि ५६ औं जन्मदिनमा उनले भरतपुर अस्पतालमा मरणोपरान्त अङ्गदान गरेका थिए । उनि भरतपुर अस्पतालमा अङ्गदान गर्ने पहिलो व्यक्ति हुन् । ५७ औं जन्मदिनमा पनि उनले भरतपुर अस्पतालमा रक्तदान र गणेशधाममा बृक्षारोपण गरेका थिए । विसं २०२० चैत ५ गते स्याङ्जामा जन्मिएका सुवेदी हाल भरतपुर महानगरपालिका–१२ मा बसोबास गर्दै आएका छन् । उग्र्यान न्होर्बु छ्योलिङ गुम्बाका अध्यक्ष मेख तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


























