Breaking News
कोरोनाले थलिएको चितवनको व्यवसायिक क्षेत्र उठ्न सकेन, विदेशी पर्यटकको आगमन शुन्य

मनिका विश्वकर्मा
चितवन, फागुन २७-
चितवनमा पछिल्लो समय व्यापार–व्यवसाय खस्किएको छ ।
विश्वव्यापी रुपमा देखिएको कोरोना सङ्क्रमणले अन्य देशहरुमा मात्रै नभई नेपालमा पनि नोक्सानी पु¥याएको हो ।
कोरोनाका कारण आर्थिक क्षेत्रमा धेरै क्षति पुगेकोले पहिलेको जस्तै चलायमान हुन सकेको छैन । त्यस्तै चितवनमा पनि आर्थिक तथा व्यवसायिक कारोबार घट्दो क्रममा नै रहेको छ । कोरोना भन्दाअघिको समयमा तीव्र गतिमा बढिरहेको व्यापार व्यवसाय अहिले कोरोनापछि घट्दो रहेको न्यु ग्लोबल इन्टरप्राइजेजका सञ्चालक कृष्ण ढकालले बताए ।
कोरोनापछि मानिससँग पर्याप्त आम्दानी नहुँदा घर निर्माणका कामहरु पनि कम गरेकाले सामानहरु बिक्री वितरण हुन नसकेको उनले बताए । कोरोनाअघि मासिक ४५ लाख रुपैयाँसम्म व्यापार हुने गरेको जानकारी दिँदै ढकालले अहिले झन्डै १४ लाख रुपैयाँ घाटा भएको बताए । उनले व्यवसाय सुरु गरेको तीन वर्ष भएको छ । व्यवसाय पुरानै अवस्थामा आउनको लागि धेरै समय लाग्ने ढकालको अनुमान छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठका अनुसार चितवनमा आर्थिक कारोबार घट्दो अवस्थामा छ । कोरोनाभन्दा पहिलेको अवस्थामा व्यापार व्यवसाय नफर्किएको श्रेष्ठले बताए । व्यवसायीहरुको कर, कर्जाबारे राज्यले कुनै सम्बोधन नगर्दा पनि व्यापार व्यवसाय खस्किएको भन्दै श्रेष्ठले भने, ‘चितवनमा व्यापार व्यवसाय पुरानै अवस्थामा आउन धेरै समय लाग्छ । राज्यबाट साथ सहयोग भयो भने रामै्रसँग अघि बढ्नेछ ।’ बैँक , वित्तीय संस्थाहरुको नीति, कार्यविधिअनुसार व्यापार व्यवसायमा सुधार गर्दै लैजाने उनले बताए ।
त्यसैगरी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले चितवनमा आर्थिक कारोबारको अनुपात झन्डै ८० प्रतिशतसम्म झरेको बताए । संघमा हालसम्म चितवनका एक हजार १०० उद्योगहरु दर्ता भएको छ । दर्ता हुने प्रक्रिया क्रमिक रुपमा अघि बढिरहेको उनले बताए ।

उद्योग व्यवसायलाई सुदृढ बनाउन विदेशी पर्यटकको आगमन पनि आवश्यक हुने उनले बताए । कोरोनापछि चितवनमा विदेशी पर्यटकको सङ्ख्या घट्दो रहेको र आन्तरिक पर्यटकको भने सङ्ख्या बढ्दो रहेको उनले बताए । सरकारले उद्यमशिलताको तालिमहरु दिनुपर्ने र उद्योग व्यवसायमा उत्प्रेरणा गर्नुपर्ने पौडेलको भनाइ छ । चितवनको पर्यटकीय क्षेत्रहरु सौराहा, मेघौंली र पटिहानीमा विदेशी पर्यटकहरुको संख्या लगभग शुन्यप्राय नै छ । सौराहाका होटल व्यवसायी सुमन घिमिरेले विदेशी पर्यटकहरुको आगमन फाट्टफुट्ट मात्र देखिएको बताए । उनले भने, ‘ भारतीय पर्यटकहरुको आगमनपछि कोरोनापछि छैन भने आन्तरिक पर्यटकको संख्या पनि कोरोना अगाडि जस्तो छैन । आशा गरौं चैतको अन्त्यसम्ममा केही अझै आन्तरिक पर्यटक बढ्छन् कि ।’
त्यस्तै नेपाल बैंक लिमिटेड, नारायणगढका प्रबन्धक रमेश न्यौपानेले कोरोनाका कारण बैँकिङ क्षेत्रमा खासै प्रभाव नपरेको बताए । उनले भने, ‘कोरोनाको प्रभाव चितवनको बैंकमा शुन्य नै रहेको छ ।’ बंैकको अवस्था कोरोनाअघिको समय भन्दा पनि बढी राम्रो हुँदै गएको न्यौपानेले बताए । बैंकमा दिनमा ६०० जना व्यक्तिहरु कारोबारका लागि पुग्ने गरेका न्यौपानेको भनाइ छ ।
























