Breaking News

बन्द भएको १४ बर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

Banner

चितवन,फागुन २४-

चितवनको भरतपुर-९ आस्था चोकमा रहेको शीत भण्डार पुनः सञ्चालनमा आएको छ । २०६३ सालदेखि बन्द रहेको शीतभण्डार फागुन १० गतेदेखि सञ्चालनमा आएको हो ।

चितवनका ५ जना यूवाहरु मिलेर सञ्चालन ल्याएको शीत भण्डारमा २ हजार टन कृषि उपजका सामाग्री राख्न सकिने छ । अहिले आलु, प्याज, गाँजर, सुन्तला, कागती, स्याऊ लगायतका कृषिजन्य वस्तुको भण्डार गर्न सकिने चितवन कोल्ड स्टोरेजका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए । २०४६ सालमा स्थापना भएको शीतभण्डारलाई १५ करोड रुपैयाँ खर्चिएर पुनः सञ्चालनमा ल्याईएको हो । अत्याधुनिक प्रविधि अनुसार कुलिङको व्यवस्था गरिएको उनले बताए ।

“स्थानीयस्तरमा उत्पादित कृषि उपजको बजारमा माग भएका बेला बिक्री गर्न सकिने भएकाले कृषक उपजले उचित मूल्य प्राप्त गर्ने लक्ष्यसहित शीत भण्डार बनाएका हौं ।” संयोजक श्रेष्ठले भने “शीत भण्डार सञ्चालनमा आएपछि कुहिएर खेर जाने बस्तुको सदुपयोग हुनेछ । कृषकले उत्पादन गर्ने फलफुल तथा कृषिजन्य सामग्री भण्डारण गर्न सक्नुहुन्छ ।” चितवन कोल्ड स्टोरेज नाम दिएर सञ्चालनमा ल्याईको शीत भण्डारमा केही समयपछि माछा, मासुको पनि भण्डारण गरिने उनले बताए । शीत भण्डार मल्टी च्याम्बर प्रविधिबाट निर्माण गरिएको छ ।

उनका अनुसार चितवनमा ३ वटा शीत भण्डार सञ्चालनमा छन् । तर, चितवनको पुरानो र ठुलो शीत भण्डार चितवन कोल्ड स्टोरेज हो । अझै जिल्लामा १० देखि १२ हजार टन क्षमताको शीतभण्डारको आवश्यकता रहेको उनको भनाई छ । अहिले जिल्लामा भण्डारण गर्ने ठाउँको अभावमा कृषि उपजहरु खेर गइरहेको उनले बताए । शीत भण्डार पुर्णरुपमा सञ्चालनमा आएपछि सामानको मुल्य समेत घट्ने उनको दाबि छ । अहिले जिल्लामा गोरखा, तनहुँ, लम्जुङबाट समेत किसानहरुले भण्डारणका लागि कृषि उपज ल्याउने गरेका छन् ।

कृषकहरूले विशेषगरी आलु, सुन्तला र प्याजको भण्डारण, ढुवानी र लोड अनलोडमा धेरै रकम खर्चनु परेको छ । अब थोरै लगानीमा तरकारी तथा फलफुलहरु भण्डारण गर्न सकिने सञ्चालक श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>