Breaking News

चितवन खैरहनीको पर्सा साना शहरी खानेपानीमा दलीय भागबण्डा,अध्यक्ष काँग्रेसलाई

Banner

ध्रुवराज खनाल,

खैरहनी,फागुन २२-

चितवनको खैरहनीस्थित पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन सहमतिका आधारमा गरिएको छ । नेकपाभित्रको दुई समूह र नेपाली कांग्रेसबीच भागबण्डा गरेर सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

भागबण्डा अनुसार नेकपाले दुई पदाधिकारी र तीन जना सदस्य पाएको छ भने नेपाली कांग्रेसले अध्यक्ष र अर्को एक पदाधिकारी तथा दुई सदस्य पाएको छ । नेपाली कांग्रेस निकट उपभोक्ता गणेश बर्तौला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । कांग्रेसबाटै कोषाध्यक्षमा श्याम पाठक चयन हुनुभएको छ ।

नेकपाको तर्फबाट उपाध्यक्षमा प्रकाश रुपाखेती र सचिवमा अशोक रैला सर्वसम्मत हुनुभएको हो । नौ सदस्यीय कार्यसमितिमा पाँच जना सदस्य रहेका छन् । जसमा कांग्रेस निकटका दुई जना र नेकपा निकटका तीन जना रहेका छन् । सदस्यहरुमा कांग्रेस निकटका महेन्द्र थापा र सुनिता चौधरी हुन् भने नेकपा निकटबाट केशव भट्टराई, कमला गजुरेल र भवानी खतिवडा चयन हुनुभएको छ ।

श्रोतका अनुसार नेकपाभित्र पनि केपी शर्मा ओली र प्रचण्ड माधव समूहबीच भागबण्डा भएको छ । भागबण्डा अनुसार उपाध्यक्षमा चयन भएका रुपाखेती र सदस्य भट्टराई प्रचण्ड माधव समूहका हुन् । सचिवमा चयन भएका रैला र सदस्यहरु सुवेदी र खतिवडा ओली समूहका मानिन्छन् । दुई पार्टीबीच भएको सहमती अनुसार लेखा समिति संयोजक नेकपालाई दिने र दुई सदस्य कांग्रेसले लिनेछन् । संयोजकमा प्रचण्ड माधव समूहबाट चयन गर्ने सहमति भएको बुझिएको छ ।

नवनिर्वाचित कार्यसमितिको समयावधि चार वर्षको हुनेछ । सो समितिका पदाधिकारी तथा सदस्यहरुले शनिबार सपथग्रहण गरेर पदभार समेत ग्रहण गरेका छन् । गतवर्ष पर्सा साना खानेपानी जिल्लामै शुद्धपानीको गुणस्तरमा पहिलो नम्बरमा रहेको थियो । पदभार ग्रहणपछि संक्षिप्त प्रक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष गणेश बर्तौलाले पानीको गुणस्तरलाई कायम राख्दै सहज र सरल रुपमा नगरवासीलाई शुद्धपानीको पहुँचमा पु¥याउने बताउनुभयो ।

पर्सा खानेपानीले अहिले खैरहनी नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, ९, १२ र १३ को सबै क्षेत्र र वडा नम्बर २ को केही क्षेत्रमा खानेपानीको सुविधा उपलब्ध गराउँदै आएको छ । सो संस्थामा झण्डै चार हजार ४०० ग्राहक रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>