Breaking News

बलात्कृत महिला, बालिकालाई समाज र परिवारमा पुन:स्थापना हुनै कठिन

Banner

मनिका विश्वकर्मा

चितवन, फागुन २० –

पितृसत्तात्मक समाजमा महिलामाथि हुने हिंसाहरु बढीरहेको छ । पछिल्लो समय नेपालमा विभिन्न किसिमका घटनाहरु भइरहेका छन् । जसमा धेरै बालिका र महिला घटनाका शिकार भएका छन् । घटनाले गर्दा उनीहरु झन थप पिडामा परेको देखिन्छ । यौनजन्य हिंसाहरु बढिरहेको छ । साना बालिकाहरु आफ्नै शिक्षक, दाजुभाइ, बाबु, छिमेकी र चिनेका नचिनेकाहरुबाट बलात्कारको शिकार बन्न बाध्य भएका छन् । उनीहरुलाई आफू पीडित भएकोमा भन्दा पनि न्याय प्रक्रृयाबाट बढी पीडा हुने गरेको छ ।

१२ वर्षीय बालिका शिक्षकबाट बलात्कृत

घटना नं १

फेरि त्यो घटनाको याद आउँछ ११ वर्षीया बालिकालाई । त्यो दिन जुन दिन उनी स्कुलबाट फर्केर साथीहरुसँग खेल्दै आइरहेकी हुन्छिन् । रातो रिबन लगाएर दुई चुल्ठी बाँधेकी बालिकालाई राम्रोसँग आफ्नो सरसफाइ पनि गर्न आएको हुँदैन । सुँसुँ सिगान तान्दै उनी घरतिर साथीहरुसँग जाँदै थिइन् त्यही बेला उनलाई स्कुलमा पढाउने शिक्षकले बाटोमा चकलेट दिँदैँ हातमा समातेर घरतिर लैजान्छन् । ५० वर्षीय शिक्षकको घर पनि बालिकाको घर नजिकै छ । उनले यो दिन बालिकालाई हातमा मात्रै समात्दैनन् । उनले अलि अलि उज्यालो भएको कोठामा बालिकालाई अझै चकलेट खाने भन्दै थप्दै जान्छन् । बिस्तारै शिक्षकले बालिकाको सर्टका बटमहरु खोल्न थाल्छ । बालिकाले सर के गर्नु भएको भन्दा उनका हातका चकलेट सबै भुईँमा झर्छन् । उनी डराउँछिन् । बालिकाले मनाही गर्दागर्दै पनि शिक्षकले उनलाई करणी गर्छन् । उनी त्यस दिनदेखि विद्यालय कम जाने गर्न थालिन् जसका कारण पढाई पनि बिग्रदै जान्छ । शिक्षकले अर्को पटक पनि धम्की दिएर करणी गर्छन् ।

बालिकाको संरक्षक भन्छन्, ‘कसैलाई भनिस् भने तेरो परिवारलाई मारिदिन्छु र तलाई पनि मारिदिन्छु भनेर बालिकालाई धम्की दिने गथ्र्यो त्यो शिक्षकले ।’ बालिकाले बल्लतल्ल शिक्षकले आफूलाई करणी गरेको कुरा परिवारलाई जानकारी गराइन् । शिक्षक राजनीति नेता भएकोले पनि परिवारलाई प्रहरीमा जाने कि नजाने भन्ने अलमल्ल हुन्छ । अर्को दिन पनि बालिकालाई शिक्षकले करणी गरेपछि हजुरआमा र आमाले उजुरी गर्छन् । उजुरी गरेपछि शिक्षकलाई प्रहरीले पक्राउ गर्छ ।

चितवन जिल्ला अदालतमा मुद्दा पनि जान्छ । बालिकाको परिवार आर्थिकरुपमा विपन्न परिवारको भएकोले उनीहरुलाई समाजले पनि अवहेलना गर्न शुरु गर्छन् । बालिका पनि पढ्न जानै बन्द गरिदिन्छिन् । पछि चितवनका महिला अधिकारकर्मीहरुको सहायतामा बालिकालाई संस्थामा लगेर राखिन्छ । शिक्षकलाई पनि अदालतले डेढ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाउँछ । तर बालिकाको हालत भने उस्तै छ ।

पढाइमा अब्बल र मेहनती बालिकालाई विद्यालय नै जान डर लाग्छ । बालिका कहिले डराएर रुने त कहिले आत्तिने उनका संरक्षक बताउँछन् । शारीरिक, मानसिक रुपमा सशक्त हुन नसकेको उनीहरु बताउँछन् । बालिकालाई पहिलेको अवस्थामा ल्याउन केही समय लाग्ने उनीहरुले बताउँछन् । उक्त घटनाले बालिकालाई मात्रै पिरोलेको छैन कि उनको परिवारलाई समाजलाई पुनःस्थापना हुन असहज भएको छ । ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने उक्त परिवारलाई सो घटनाले असर पु¥याएको छ । बालिकाको मुद्दा अधिवक्ता फूलमाया रानाभाटले बहस गरेकी हुन् ।

पीडित झन् पीडामा

घटना नं. २

चितवनकै १३ वर्षीय बालिकालाई बडा दसैंको दिन डर, त्रास र धम्की दिएर छिमेकी एक युवकले करणी गर्छन् । ती २३ वर्षीय युवाले त्यसपछि बालिकालाई पटक–पटक करणी गर्छन् । त्यसलगत्तै बालिकालाई युवकले पटक करणी त गर्छन् नै युवकले आफ्नो एक जना साथीलाई पनि भनेर बालिकालाई करणी गर्न लगाउँछन् । युवकको साथीले बालिकालाई ट्रकमा धम्की दिएर विभिन्न स्थानहरुमा लगेर करणी गरेको जिल्ला अदालत चितवनले बताएको छ । त्यस लगत्तै बालिकालाई घाँस काट्ने क्रममा दुई युवकले पनि करणी गर्छन् ।

बालिकाको महिनावारी रोकिएर पेट पनि ठूलो हुँदै गएपछि परिवारले स्वास्थ्य चौकीमा लैजान्छन् । स्वास्थ्य चौकीबाट बालिका गर्भवती भएको कुरा थाहा भएपछि सोधपुछको क्रममा बालिकालाई चार युवकले करणी गरेको जानकारी हुन्छ । त्यसपछि बालिकाले जाहेरी दिएपछि चार जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गर्छ । घटनाका पीडक दुई जना अझ फरार छन् । पक्राउ परेका दुवै युवकलाई अदालतमा मुद्दा पनि चलाइयो । न्यायाधीस हेमन्त रावलको इजलासमा दुई युवकलाई १८ वर्ष ६ महिना कैद र जनही २५ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।

पीडकहरुको आर्थिक अवस्था पनि कमजोर भएकोले उनीहरुको अवस्था हेरेर जरिवाना गरेको अदालतले जनाएको छ । दुई युवकलाई अदालतले मुलुकी अपराध संहिता दफा ११९(१)(२)(३)(ख) र २१९ (७) बमोजिम सजाय दिएको हो । बालिकाले गर्भपतन गर्न नमानेपछि उनले एक शिशुको जन्म पनि दिइन् । कलिलै उमेरमा जन्मेकाले बालिकाले जन्माएको शिशुको मृत्यु हुन्छ । बालिकाले फैसला भएको धेरै दिन हुँदा पनि क्षतिपूर्ति पाउन सकेकी छैनिन् । पीडक र पीडितको घर एकै ठाउँमा भएको कारण बालिका घरमा बस्न नसकेर घरभाडामा बस्न बाध्य भएकी छिन् । पढ्ने खेल्ने उमेरमा बालिकाले धेरै पीडा व्यहोर्नुपरेको महिला अधिकारकर्मी मिना खरेलले बताइन् ।

बालिकाको अवस्था अहिले नाजुक रहेको छ । उनीसँग घरभाडा तिर्ने पैसा पनि छैन । उनलाई अहिले संस्थाले नै हेरिरहेको छ । पढ्न पनि छोडेकी उनले अहिले ती घटनालाई बिर्सन सकेकी छैनिन् । उक्त घटनाको कारण उनका परिवारका सदस्यहरुलाई सकस भएको छ । बालिकालाई पनि त्यही घटनाले गर्दा समाजले पहिले जस्तो व्यवहार नगर्ने भएकोले नै घरबाहिर बस्न बाध्य भएको हो ।

उनलाई संरक्षण गर्ने संस्थाका अनुसार बालिकालाई समाजमा सुरक्षा नभएको कारणले नै उनलाई कोठाभाडामा राखिएको हो । बालिकालाई समाजमा पुनःस्थापना गर्न नै नसकिने उनीहरु बताउँछन् ।

अन्तरजातीय विवाहको कारण बलात्कारी लुकाइयो

घटना नंं. ३

यो घटना पनि चितवनको नै हो । ११ वर्षीय बालिकालाई आफ्नै ठूलोबुबाका छोरा दुई दाजुहरुले बलात्कार गर्छन् । छिमेकीले तोरी उखल्ने क्रममा दुई दाजुले बालिकालाई करणी गरेको देखेपछि उनीहरुलाई प्रहरीमा उजुरी दिन्छन् । १७ वर्षीय र २३ वर्षीय दुई दाजुभाइले बालिकालाई करणी गरेकोमा उनीहरुलाई प्रहरीले पक्राउ गर्छ । बालिकाको आमा दलित र बुबा नेवार समुदायका हुन् । उनको आमालाई अझै पनि परिवारले स्वीकार गरेको छैन । आमा दलित भएकै कारण बालिकाले पनि न्याय पाउन सकिनन् ।

उनीहरुलाई परिवारले अंश पनि दिएका छैनन् । हाडनाताको घटनामा ११ वर्ष सजाय हुनुपर्नेमा यस घटनामा भने दाजुले भने सफाइ पायो र १७ वर्षीय किशोरले भने बालक भएकोले हेमन्त रावलको नै इजलासमा बाल सुधार गृहमा पठाउने फैसला गरेको थियो । यो घटना आजभन्दा २ वर्ष अघिको हो । फैसला पनि भयो । तर, बालिकालाई पढ्न लेख्नको लागि संस्थामा राखियो ।

बालिकालाई संस्थामा पनि त्यही घटनाले गर्दा नै बसिसक्नु भएन । त्यसपछि बालिकालाई मामाघरमा राखियो अहँ बालिका त्यहाँ पनि बस्न सकिनन् । त्यसपछि उनी आफ्नै आमासँग कोठाभाडामा बसेकी छिन् । स्कुलमा प्रथम हुने उनको पढाई पनि बिग्रदै गएको छ । उक्त घटनालाई सम्झेर उनी एक्लै टोलाउने जस्ता व्यवहार भएको छ ।

स्कुल जाने क्रममा सामुहिक बलात्कार गरेको आरोप

घटना नं. ४

वीरगञ्जकी १३ वर्षीय बालिकालाई ३ युवकले बलात्कार गरेको आरोप लागेको छ । स्कुल जाने क्रममा बालिकालाई ती युवकहरुले चितवन जाने बसमा चढाएर ल्याएका थिए । चितवनको रत्ननगरमा कोठामा बस्ने वर्ष (२१, १९, २२) युवकहरुले बालिकालाई बन्धक बनाएर पटक–पटक करणी गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको हो । सरकारी वकिलको कार्यालय चितवनका अनुसार ती बालिका रातको समयमा कोठामा युवकहरु नभएको मौका छोपी भागेर सर्लाही जाने बसमा चढेर घर पुगेकी थिइन् । अहिले यो मुद्दा अदालतमा बहस भइरहेको छ । जसमा प्रहरीले एक जना युवकलाई मात्रै पक्राउ गरेको छ भने दुई जना फरार रहेका छन् । उनीहरुको फैसला हुन बाँकी छ ।

चितवनकामा यौनजन्य हिंसा बढ्दो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष ०७७÷७८ मा मात्रै जबरजस्तीकरणीको ३५ मुद्दा दर्ता भएका छन् भने आर्थिक वर्ष ०७६÷७७ मा ५१ वटा मुद्दा दर्ता भएका थिए । प्रहरी प्रवक्ता डिएसपी सूर्य बहादुर थापाका अनुसार पीडितले आफूमाथि भएको अन्याय विरुद्ध उजुरी गर्ने क्रम बढे पनि महिला बालिकाले न्याय पाउनै मुस्किल छ ।

पीडितले मुद्दा फेरिदिने, फिर्ता लिने भएकाले उजुरी गरेका केहीले मात्रै न्याय पाउने थापाले बताए । त्यस्तै चितवन जिल्ला अदालतमा चालु आर्थिक वर्षमा ४० वटा मुद्दा दर्ता भएका छन् । जसमा १८ वटा मुद्दाको मात्रै फैसला भएको छ । २२ वटा मुद्दा फैसला हुन बाँकी छन् ।

अधिवक्ता फूलमाया रानाभाटका अनुसार परिवारले अपमानित हुने डरले पनि बलात्कारका घटना लुक्ने अर्थात बाहिर अझै आउन सकेको छैन । उनले बहस गरेका अधिकांश बलात्कारका मुद्दाहरुमा १२ वर्षमुनिका बालिकाहरु रहेको बताइन् । पीडितलाई सरकारले १० लाख रुपैयाँसम्म रकम क्षतिपूर्ति भराउन सक्ने व्यवस्था भएको भन्दै रानाभाटले भनिन्, ‘पीडकले दिन नसकेको खण्डमा सरकारले पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था छ ।’

पीडक फरार रहेको अवस्थामा, न्यायाधीस बिदा बसेको अवस्थामा, वकपत्र फरक फरक भएमा, चिकित्सक झिकाउने क्रममा मुद्दाहरु लम्बिने उनले बताइन् । नेपाल सरकारले पीडितका लागि न्याय प्रदान गर्ने उद्देश्यले स्वास्थ्य, मनोसामाजिक परामर्श लगायत कानुनी सहयोग र परामर्शको एकीकृत सेवा प्रदान गर्ने जिल्ला अस्पतालमा आधारित सङ्कट व्यवस्थापन केन्द्र स्थापना गर्ने नीति लिएका उनले जानकारी दिइन् ।

कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र(सेलर्ड) का सन्तोष मर्हजनका अनुसार सामाजिक डरले बलात्कारका घटना लुक्ने गर्छन् । नैतिक शिक्षालाई हिन्दु धर्ममा जोडेर पढाइएको कारण पनि यस्ता घटनाहरु बढेको महर्जनले बताए । समाज आधुनिकता गइरहेको बेला मानवीय संवेदनशीलता हराउँदै गएको उनको भनाइ छ । बालबालिकाहरुलाई गलत छुवाई र असल छुवाईको बारेमा जानकारी आवश्यक रहेको उनले बताए । यसबारे आमाबाबु र विद्यालय बढी जिम्मेवारी हुनुपर्ने उनले बताए ।

चितवनकी महिला अधिकारकर्मी मिना खरेलका अनुसार दलित समुदायका महिला, बालिका नै बढी बलात्कृत भएका छन् । बलात्कार पछि बालिका तथा महिलाहरुको जीवनस्तर बिग्रदै गएको खरेलले बताइन् । मानसिक रुपमा पनि उनीहरुलाई असर पु¥याइरहेको उनले बताइन् । राज्यले पनि बलात्कृत भएका महिला, बालिकाहरुलाई क्षतिपूर्ति मात्रै नभएर उनीहरुको लागि सीपमूलक तालिमको साथै रोजगारीको व्यवस्था गर्नुपर्ने खरेलले बताइन् । त्यस्तै उनले यस्ता घटनामा परेका पीडितहरुलाई न्यायिक प्रक्रिया छिटोछरितो हुनुपर्ने बताएकी छिन् ।

२०७७ को यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश अनुसार

यस परिच्छेद बमोजिम करणी सम्बन्धी कसुर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसुरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसुर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन वा प्रभावमा पार्न नहुने बताइएको छ ।

(२) उपदफा (१) बमोजिमको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवाना हुनेछ । (३) उपदफा (१) बमोजिमको कसुर सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई उपदफा (२) बमोजिम हुने सजायमा थप छ महिना कैद सजाय हुने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>