Breaking News
कांग्रेसले हैसियत अनुसारको विपक्षी दलको भूमिका निर्वाह गर्नुपर्छः रामचन्द्र पौडेल

चितवन, फागुन १९-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका छन् । चितवनमा बुधबार आयोजित कार्यक्रममा उनले यतिबेला नेपाली जनताले कांग्रेसबाट धेरै आशा गरेका भन्दै कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने बताएका हुन् ।
‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सनो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ’ उनले भने, ‘सजग भएर, इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सक्यौं भने अर्को चोटी लोकतन्त्रको रक्षा गर्न सहयोग गर्न सक्छौं ।’ पौडेलले विपक्षी दलको भूमिका यति बेला के हुने भन्ने चाहिँ खुलाएनन्, यद्यपि कांग्रेस जिम्मेवारीबाट पन्छिन भने नमिल्ने बताए ।
नेता पौडेलले संसदीय प्रणाली अझै पनि खतरामा रहेको भन्दै लोकतन्त्रलाई विकृतिबाट जोगाउनु पर्नेमा जोड दिए ।
यस्तै सोही कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री डा.शशांक कोइरालाले स्वर्गीय रानाभाटको योगदान उच्च रहेको भन्दै पार्टीले सदैव स्मरण गर्ने बताए । रानाभाटलाई आफूले राजनीतिक र आँखाको बिरामीको रुपमा चिनेको भन्दै रानाभाट एक कुशल र निडर व्यक्ति भएको बताए ।
श्रद्धाञ्जली सभामा विभिन्न संघसंस्थाहरुले दिएको श्रद्धाञ्जली पत्र सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले रानाभाट परिवारलाई हस्तान्तरण गरेका थिए । शोकसभामा पूर्व मन्त्री डिना उपाध्याय, केन्द्रीय सदस्य एवंम काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँलगायतले शोक मन्तव्य व्क्त गरेका थिए । काँग्रेस चितवनका सचिव उत्तम जोशीले संचालन गरेको कार्यक्रम काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।


























