Breaking News

चितनवमा उत्पादित तरकारीमा अत्याधिक बिषादी, फर्सिमा ९८.७७ प्रतिशत अर्गानो फस्फेट

Banner

वसन्त ढुंगाना,

चितवन,फागुन १७-

चितवनमा उत्पादित तरकारीमा अत्याधिक विषादी प्रयोग हुने गरेको पाइएको छ । उत्पादन बढाउन र सूचीकृत नभएका बिउ प्रयोग गरी उत्पादन लिन खोज्दा त्यसमा धेरै मात्रामा हानिकारक विषादीको प्रयोग हुने गरेको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार, यहाँ गोलभेडा, भेडेखुर्सानी, ब्रोकाउलीमा बिषादीको प्रयोग अत्याधिक भएको छ ।
“भरतपुरको बिषादी अवशेष द्रुत विशलेषण प्रयोगशालामा तरकारीको नमुना परीक्षण गर्दा पूर्वि चितवनको गोलभेडा, पाख्रिबासको भेडेखुर्सीनिमा अर्गानो फस्फेट ४५ प्रतिशत भन्दा बढी र ब्रोकाउलीमा ४० प्रतिशत देखिएको छ”,कृषि ज्ञान केन्द्र चितवनकी बालि संरक्षण अधिकृत पुर्णिमा क्षेत्रीले भनिन्, “यो मात्रा खान अयोग्य बिषादी हो ।” चितवनको गोलभेडामा पटक–पटक बिषादीको बढी प्रयोग भएको देखिएको छ । यस अघिपनि जिल्लामा ५ क्रेट गोलभेडा नष्ट गरिएको थियो ।

उनका अनुसार तरकारीमा अर्गानो फस्फेट ३५ प्रतिशत भन्दा माथि देखिएमा तरकारी प्रयोग गर्न मिल्दैन । तर, ३५ देखि ४५ प्रतिशतसम्म देखिएको तरकारीलाई केही दिन क्वारेन्टाईनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम देखिएमा खान मिल्ने क्षेत्रीले जानकारी दिईन् ।

प्रदेश सरकारको सहयोगमा भरतपुर महानगर फलफुल तथा तरकारी थोक बजारमा बिषादी अवशेष द्रुत बिषलेषण प्रयोगशाला राखिएको छ । यहाँ नियमित ५ वटा नमुना परीक्षण हुने गर्दछ । २०७६ पौष महिनादेखि यता केरा, गोलभेडा, भेडेखुर्सानी लगायतका तरकारीमा बिषादी बढी देखिएपछि नष्ट गरिएको छ । प्रयोगशालाबाट अर्गानो फोस्फेट र कार्बोमेट परीक्षण गरिन्छ । परीक्षणको क्रममा तरकारी र फलफुलमा बढी बिषादी देखिने गरेको भरतपुर महानगर बजार व्यवस्थापन समितिका प्रबन्धक थीर प्रसाद धितालले जानकारी दिए । “केरा र टमाटरमा त बिषादी बढी देखिएर नष्ट नै गरेका थियौँ”, उनले भने, “बिषादी देखिएर होल्डमा राख्नुपर्ने तरकारी त थुप्रै हुन्छन् ।” बिषादी प्रयोग गरेको छोटो समयमै तरकारी बजारमा ल्याउँदा बिषादीको मात्र बढी देखिएको उनले बताए ।

चितवनको तरकारीमा बढी बिषादी पाईएपछि कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समिति काठमाण्डौँले कृषि ज्ञान केन्द्र चितवनलाई पत्र समेत लेखेको छ । कालीमाटी प्रयोगशालाका अनुसार भरतपुर नगरपालिका २४ धुर्वनगरका कृषकले लगाएको फर्सिमा ९८ दशमलव ७७ प्रतिशत अर्गानो फस्फेट देखिएको छ । जुन ४५ प्रतिशत भन्दा माथि अर्गानो फस्फेट देखिएमा सो वस्तु खान अयोग्य मानिन्छ ।

बढी मात्रामा तरकारीमा विषादी प्रयोग हुने र त्यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने गरेको बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उप–निर्देशक डाक्टर कृष्णसागर पौडेलले बताए । बिषादी हालेको तरकारी सेवन गर्दा छाला, आन्द्रा र रक्त क्यान्सर हुन्छ । यस्ता बिरामी दिनप्रतिदिन बढ्दै छन”, उनले भने, “अहिले तरकारी बढी उत्पादन हुने काभ्रे, धादिङ, चितवन लगायतका मान्छेमा छाला, आन्द्रा र रक्तक्यान्सर बढी देखिएको छ ।” सुरक्षा सावधानि नअपनाई बिषादी छर्दा छालाको क्यान्सर हुने र बढी बिषादी प्रयोग गरेको तरकारी खादा आन्द्रा र रक्त क्यान्सर हुने उनले बताए ।

जिल्लामा बढेको विषादी प्रयोगलाई न्यूनीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र चितवनले सचेतनाका कार्यक्रम गर्दै आएको छ । हामीले बिषादी रहित सप्ताह मनाएर किसानहरुलाई बिषादी न्यूनिकरण गर्नका लागि प्रयास गरेका छौँ । कहिले जनचेतना मुलक सुचनाहरु सञ्चार माध्यमबाट प्रसारण गर्ने गर्दछौँ”, कार्यालय प्रमुख राजन ढकालले भने, “बिषादी न्यूनिकरणमा किसानहरु आफै लाग्न पनि जरुरी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>