Breaking News

कांग्रेस एक्लै चुनाव लडेर कम्युनिस्टलाई नेपालबाट बिदाइ गर्छः जितनारायण श्रेष्ठ

०
Banner

चितवन, माघ १९

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कम्युनिस्टले चुनाव हारेकालाई सांसद बनाएर लोकतन्त्रको बदनाम गराएको आरोप लगाएका छन् । आज चितवनमा नेपाली कांग्रेसका भातृ संगठनहरुले गरेको विरोध सभामा बोल्दै उनले सो आरोप लगाएका हुन् । चुनाव हारेका नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई सांसद बनाएर नेकपाले लोकतन्त्रको बदनाम गराएको उनको भनाइ थियो ।

कांग्रेस निर्वाचनसँग डराएर संसद विघटनको विरोध नगरेको बताउँदै उनले संविधानको रक्षाका निम्ति सडकमा आएको बताए । कम्युनिस्टका कुनै पनि नेता ठिक नभएको बताउँदै उनले अब कांग्रेस कहिल्यै पनि कम्युनिस्टसँग नमिल्ने बताए । कांग्रेस एक्लै चुनाव लडेर अब कम्युनिस्टलाई नेपालबाट बिदाइ गर्ने उनको भनाइ थियो । जसका लागि नेकपाका नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुको कर्तुत जनताको घरघरमा कांग्रेसले पुर्‍याउनु पर्ने उनको भनाइ छ ।

त्यसैगरी सभामा सभापति श्रेष्ठले प्रधानमन्त्री केपीशर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बन्धमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई ‘आमा’ भन्नुपर्ने भनेको कुरा उल्लेख गर्दे श्रेष्ठले नेकपा नेता महेश बस्नेतले केपी ओलीलाई ‘बा’ भन्नुपर्ने बताएको कुरा उल्लेख गरे ।

‘केपी ओलीलाई ‘बा’ भन्नुपर्ने, विद्यादेवीलाई आमा भन्नु पर्ने अरे । ल हेर्नुस अब । के हुँदैछ यो मुलुकमा’ उनले भने, ‘केपी ओलीलाई बा भन्नुपर्ने र विद्याभण्डारीलाई आमा भन्नु पर्ने हो भने तिनको सम्बन्ध के हो’ भनेर हामीले प्रश्न गर्ने कि नगर्ने ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले कम्युनिस्ट नेताहरुको आफ्नो स्वार्थको लडाइले गर्दा देश भड्खालोमा पुगेको बताइन् । देश र जनतालाई संकट पर्दा नेपाली कांग्रेसले नेतृत्व गरेर निकास दिएको इतिहास रहेको बताउँदै उनले अब पनि कांग्र्रेस नै यो संकटको निकास दिनुपर्ने बताइन् ।

संसद विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले खारेज गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । हामी भ्रष्टचारी, गुण्डागर्दी र बलात्कार न्यूनीकरण गर्नका लागि केपी सरकारको विरोध गर्न आवश्यक रहेको उनको भनाइ थियो । विरोध कार्यक्रममा नेपाल तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार, नेविसंघका जिल्ला अध्यक्ष सूर्य ढकाललगायतले बोलेका थिए । कार्यक्रममा नेपाल दलित संघ, भूपु सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघलगायतका नेपाली कांग्रेसका ११ वटा भातृ संगठनका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आज नेपाली कांग्रेसका १३ वटै भातृ संगठले देशका ७७ वटै जिल्लामा संसद विघटन विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>