Breaking News

जब सुनिताले दाजुसंग लडेर अंश पाईन्

Banner

मनिका विश्वकर्मा,

चितवन,माघ १९-

छोराछोरी बराबर भनेर बाहिर जति बोले पनि घरभित्र भने छोराछोरी बराबर हुन सकेका छैनन् । ‘जब मैले अदालतमा अंश मुद्दा हाले त्यही दिनदेखि दाइ–भाउजु मसँग बोल्नु हुदैन’ सुनिता कार्कीले गुनासो गर्नुभयो ।

भरतपुर १ मा घर रहेकी सुनिता सानैदेखि मिहेनती र घरका सबैको प्यारी छोरी हुनुहुन्थ्यो । सुनिताको एक जना दाइ र एउटा भाइ हुनुहुन्थ्यो । भाइको ५ वर्षकै उमेरमा सर्पको टोकाइबाट निधन भएपछि सुनिताको परिवारमा सन्नाट फैलियो । त्यति बेला सुनिताको बुवा विदेशमा नै काम गर्नुहुन्थ्यो । सुनिता भन्नुहुन्छ, ‘बुबा पनि विदेशमा भएकोले मम्मीको हेरचाह गर्ने म मात्रै थिएँ । भाइको निधनपछि मम्मी धेरै रुनुभयो ।’ सुनिता आफैले घरमा सानो साइबरको पसल राख्नुभएको थियो । त्यहीँबाट उहाँले आफ््ना लागि खर्च जुटाउनुहुन्थ्यो । सुनिताको दाइले पनि बिहे गर्नुभयो ।

दाइको बिहेपछि सुनिताको आमाछोरी छुट्टै भान्सा सर्नुप¥यो । उहाँ सम्झिदै भन्नुहुन्छ, ‘अब मम्मीलाई हेरचाह गर्ने म मात्रै होला जस्तो लागेर अब बिहे नगर्ने निधो गरेँ । मम्मी पनि सुगर र उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो ।’ केही महिनापछि सुनिताको आमाको निधन भयो । आमाको निधनपछि सुनितालाई धेरै सकस भयो । मम्मीको पनि निधन भयो । आफूले थालेको व्यवसाय पनि ठप्प हुन थाल्यो’ सुनिताले भन्नुभयो ।

उहाँलाई अझै पनि अंश लिनुपर्छ जस्तो लागेको थिएन । दाजु भाउजुको रुखो व्यवहार त्यहीमाथि सुनिताको बुवाले दोस्रो बिहे गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘बाबा र दाइले त्यस्तो नगरेको भए मैले अंश माग्ने थिइनँ ।” उहाँले जिल्ला अदालत चितवनमा अंश पाऊँ भनेर मुद्दा दर्ता गर्नुभयो । सुनिताले एक महिनापछि अदालतमा अंश मुद्दा दर्ता गरेको कुरा घरमा थाहा पाए ।

उहाँ भन्नुहुन्छ, ‘अंश पाउने कुरा भनेको जस्तो सहज हुँदैन रहेछ । मलाई अंश पाउन लगभग एक वर्ष लाग्यो । तारेखमा बस्नु प¥यो धेरै गाह्रो भयो ।’ उहाँलाई मुद्दा जित्न नै ५० हजार रुपैयाँ खर्च लागेको थियो । उनी भन्छिन्, ‘वकिल लड्न पनि धेरै गाह्रो भयो ।’ उहाँको नाममा जग्गा पास गर्नुपर्ने भनेर अदालतले गत फागुन महिनामा फैसला सुनायो । मुद्दा जितेको दुई वर्षभित्र जग्गा सुनिताको नाममा गर्नुपर्ने थियो । यसको लागि सुनितासँग पैसा थिएन र सहकारीबाट ८० हजार रुपैयाँ ऋण निकालेर उहाँले आफ्नो नाममा जग्गा पास गरी लालपूर्जा लिनुभयो । जग्गा पास गरेको भनेर दाइले हातपात समेत गरेको उहाँले बताउनुभयो । उहाँले प्रहरी कार्यालयमा उजुरी समेत गर्नुभयो ।

उहाँ अहिले बाबु र दाइसँग छुट्टिएर एउटा कोठामा छुट्टै भान्सा गरेर बस्नुहुन्छ । अहिले उहाँ मासिक १५ हजार रुपैयाँ प्राप्त हुने जागिर गरेर बस्नुभएको छ । सुनिता पढेलेखेकी हुनाले समेत कानुनबारे केही जानकार भएका कारण अंश पाउन सहज भयो ।

त्यस्तै चितवनमा घर भएकी एक युवतीलाई उस्तै सकस परेको छ । उहाँको श्रीमान्ले खानलाउन समेत नदिएपछि उहाँले आफ्ना दुई छोरी सहित आफूले अंश पाउनुपर्छ भनेर अदालतमा अंश मुद्दा दर्ता गर्नुभएको थियो । तर, घरपरिवारले छोरीलाई अंश दिन नहुने भनेर अंश दिन नचाहेको उहाँले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘छोरीको जात भनेको अरुको घरमा जाने जात हो । छोरीलाई अंश दिनुहुँदैन भनेर श्रीमान्ले अंश दिन चाहेका छैनन् ।’ अहिले उहाँको मुद्दा चितवन अदालतबाट उच्च अदालतमा पुगेको छ । उहाँको मुद्दामा फैसला भएको छैन ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलकाअनुसार छोरा र छोरी दुवै समान भएकोले छोरीले अंश पाउनुपर्छ । २०६३ सालको कानुन बमोजिम अविवाहित छोरीले अंश पाउने अधिकार आएपछि चितवनमा पनि छोरीले अंश पाउने क्रम बढ्दो रहेको रावलले जानकारी दिनुभयो । पारिवारिक असन्तुष्टी भएपछि नै छोरीले अंश मुद्दा दर्ता गर्ने उहाँले बताउनुभयो ।

छोरीले अंश पाउने कानुन धेरै पहिले आए पनि पारिवारिक मेलमिलापबाट भने छोरीले अंश पाउने घटना थोरै मात्रै रहेको न्यायाधीश रावलले बताउनुभयो । अन्य विषयका मुद्दाका चाप बढ्दो रहे पनि छोरीले अंश पाउँ भन्दै आउने मुद्दा निकै कम रहेको उहाँले बताउनुभयो । अधिवक्ता फूलमाया रानाभाटले पनि अंश मुद्दाबारे बहस गर्नुहुन्छ । एकल महिला भन्दा पनि आमा संरक्षक भएर छोरीको लागि अंश पाउँ भनेर मुद्दा हाल्ने धेरै रहेको रानाभाट बताउनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>