Breaking News

दाइजोको लाखौं ऋण तिर्न भरतपुरमा मकै बेच्दै शर्मिला

Banner

मनिका विश्वकर्मा,

चितवन, माघ ११ –

भरतपुरको वातावरण गत शनिबार चिसोले धुम्म परेको थियो । वीरेन्द्र क्याम्पस गेट नजिकै ठेलामा आगो फुक्दै गरेकी शर्मिला महतोको आँखा दाउरा नसल्किएर रातै भयो । शर्मिला आँसु पुछ्दै लामो सुस्केरा तान्दै भन्छिन्, ‘कति धुवा आको, आखैँ पिरो भयो ।’ बल्ल तल्ल आगो बल्न थालेपछि मकै राम्रोसँग पाक्ने भयो भनेर उनी तत्कालै खुसी भइन् । सडकको पश्चिमतिरबाट रातो झोला बोक्दै आएकी एक जना महिलाले भनिन्, ‘दिदी तीनवटा मकै पोलिदिनु न । कति हो नि पैसा ?’

शर्मिला भन्छिन् ‘लैजानुहोस् न मिलाएर दिन्छु । राम्रो छ मकै , ताजा छ । लोकल मकै हो ।’ शर्मिलाले १० रुपैयाँ घटाएर ८० रुपैयाँमा ती महिलालाई मकै दिन्छिन् । यसरी नै शर्मिलाको हरेक दिन बित्ने गर्छ । सडकको किनारामा धुवा, धुलो र ठेलामा पसिना चुहाउँदै उनको दिनचर्या गुज्रिने गरेको छ ।

उनले पोलेको मकै ३० रुपैयाँ र काँचो मकै भने २० रुपैयाँमा बेच्ने गर्छिन् । भरतपुरको रामपुरबाट २५० रुपैयाँमा १०० घोगा मकै किनेर ल्याउँछिन् । दैनिक उनले ६० देखि ७० घोगा मकै बेच्छिन् । बिहानको घर धन्दा सकेर १२ बजेतिर ठेलामा मकै राखेर उनी भरतपुरको चोक चोकमा मकै बेच्ने गर्छिन् । उनको मासिक आम्दानी १५ हजार रुपैयाँ हुने उनले बताइन् । केही विकल्प नपाएपछि मकै बेच्न थालेको उनले भनिन् ‘महानगरले कहिले त मकै नै उठाइदिन्छ । मकै बेच्ने ठाउँ खोज्न मुस्किल छ । डराइडराइ बेच्नुपर्छ । कहिले लखेट्छन् ।’

सात सन्तानकी आमा रहेकी शर्मिलाले मकै बेच्न थालेको दुई वर्ष भयो । शर्मिलाको चार छोरी र तीन छोरा रहेका छन् । तीन जना छोरीको त बिहे पनि गरिदिएकी छन् । शर्मिलाको कान्छी छोरी पनि माइली छोरीको घरमा बस्छिन् । तीन छोरा चाहीँ शर्मिलासँगै बस्छन् । सर्लाहीको शंखर वाग्मतीमा घर रहेका शर्मिला र उनको श्रीमान्ले थाकथलो छाडेर चितवन आएको धेरै वर्ष भइसक्यो ।

उमेरले ४० वर्ष कटेकी शर्मिलालाई तीन छोरीहरुको बिहे खर्च छ लाख रुपैयाँ ऋण लाग्यो भने आफ्नै उपचारमा थप तीन लाख ऋण थपियो । उनले भनिन् ‘हाम्रो समुदायमा छोरीलाई बिहे गर्दा अनिवार्य दाइजो दिनुपर्ने भएकोले पनि यति धेरै ऋण लागेको हो ।’ त्यही ऋण तिर्न उनी अहिले हरेक दिन कोइलामा मकै पोल्न व्यस्त देखिन्छन् ।  उनको १८ वर्षीय छोराले पनि मकै बेच्ने गर्छन् । उनीहरु अहिले भरतपुरको मालपोत चोकको एउटा घरमा पाँच हजार भाडा तिरेर बस्छन् । उनका दुई छोराहरु भने स्कुल पढ्न जान्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>