Breaking News

सरकारले पहिलोपटक बनायो चितवनमा तौलपुल स्टेशन, मन्त्री नेम्वाङले गरे उद्घाटन

Banner

चितवन, माघ १८–

सरकारले पहिलोपटक चितवनमा तौलपुल स्टेशन निर्माण गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–१, आँपटारीमा निर्माण गरिएको तौलपुल स्टेशनको आज (आइतबार) एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले उद्घाटन गरे ।

सो क्रममा बोल्दै मन्त्री नेम्वाङले तौलपुल स्टेशन निर्माण गरिएसंगै सडक र मालवाहक सवारी साधनको व्यवस्थापनमा सहज हुने बताए । बाटोको क्षमता भन्दा बढी वजन बोकेर मालवाहक सवारी साधन चलेकै कारण सडक बिग्रिने र दुर्घटनाहरु निम्तिने गरेको भन्दै तौलपुल निर्माणले यातायात क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजाने बताए । उनले नारायणगढ–मुग्लिन सडकखण्डमै नेपालकै पहिलो इलेक्ट्रिक टोलको निर्माण प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयको यातायात विभागले एक करोड २१ लाख, ७३ हजार ६६५ रुपैयाँ लागतमा तौलपुल स्टेशन निर्माण गरेको हो । १८ मिटर लामो तौलपुल ८० टन क्षमताको रहेको छ । यस तौलपुल स्टेशन संचालनका लागि यातायात व्यवस्था विभागले गत मंसिर १७ गते प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयसंग समझादारी गरेको थियो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले तौलपुल निर्माण भएसंगै क्षमता भन्दा बढी वजन बोक्ने सवारी साधनहरुलाई अब तत्कालै जरिवानासहितको कारवाही गरिने जानकारी दिए । उनले सडक विभागसंग समन्वय गरी सडक कमजोर भएका स्थानहरुमा पनि तौलपुल निर्माण गर्दै लैजाने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>