चितवन विशेष

अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाका स्रोत अम्बिाकालाल

Banner

मनिका विश्वकर्मा ,

चितवन,माघ १५ –

अम्बिकालाल श्रेष्ठ एउटा नाम मात्रै होइन ‘अभियान’ हो । जो आफै शारीरिक रुपमा अशक्त हुनुहुन्छ तर थाक्नुहुन्न । चितवनको भरतपुर १० का श्रेष्ठका दुवै खुट्टा राम्रोसँग चल्दैनन् । आफै शारिरिक रुपमा अशक्त श्रेष्ठ विगत २३ वर्षदेखि अपाङ्गता भएका व्यक्तिको हक अधिकारदेखि आर्थिकस्तर उकास्नमा निरन्तर एउटा अभियान नै बोकेर हिँडनुभएको छ ।

उहाँको अगाडि कोही अपाङ्गता भएका व्यक्ति जाने बित्तिकै उहाँ आफ्ना काम छाडेर सहयोगका लागि आइहाल्नुहुन्छ । उमेरले ५६ वर्ष पार गर्नुभएका श्रेष्ठले नेपाली समाजमा उदाहरणीय काम गर्नुभएको छ । अम्बिकालाल यसरी निरन्तर अपाङ्गता भएका व्यक्तिको लागि लड्नुको पछाडि आफ्नै कथा छ ।

किशोर अवस्थामा जति बेला उहाँ कक्षा सातमा अध्ययन गर्दै हुनुहुन्थ्यो । सोही समयमा जिल्ला स्तरीय फुटबल प्रतियोगितामा उहाँले पनि भाग लिनुभएको थियो । फुटबल खेल्ने क्रममा उहाँको दाहिने खुट्टामा चोट लाग्यो । खुट्टाको उपचारका लागि उहाँ नेपालका विभिन्न अस्पताल पुग्नुभयो । अहँ उहाँको उपचार हुन सकेन । उहाँ खुट्टाकै लागि भनेर भारतको पटना भन्ने ठाँउमा पनि जानुभयो । त्यहाँका चिकित्सकले उहाँको हिप जोर्नीको शल्यक्रिया गर्नुपर्छ भनेपछि उहाँले काठमाडौँको बि एण्ड बी हस्पिटलमा दाहिने खुट्टाको शल्यक्रिया गर्नुभयो । उहाँको दाहिने खुट्टाको मात्रै नभई पछि अर्को खुट्टाको पनि शल्यक्रिया गर्नुप¥यो । शल्यक्रियापछि उहाँ सामान्य रुपमा हिँडडुल गर्नसक्ने हुनुभयो ।

त्यसपछि उहाँले भरतपुरको १० मा चाँदनी होटल खोल्नुभयो । होटेल खोलेपछि उहाँको व्यापार व्यवसायको क्रममा सामाजिक सेवामा लागेका बुद्धिजीवी मानिसहरुसँग भेट भयो । त्यहाँबाट उहाँलाई अपाङ्गता भएका व्यक्तिहरुको बारेमा थाहा भयो । त्यसपछि उहाँले २०५५ सालदेखि अपाङ्ग क्षेत्रमा काम गर्न थाल्नुभयो । उहाँले अपाङ्ग समाज भन्ने संघमा कोषाध्यक्ष भएर काम सुरु गर्नुभयो । उहाँले फेरी यही संस्थाको अध्यक्ष भएर पनि अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका बारेमा काम गर्न थाल्नुभयो ।

श्रेष्ठले भन्नुभयो, “त्यतिबेला अपाङ्गता भएका व्यक्तिहरुलाई घरबाहिर निस्कन सहज थिएन । उनीहरुलाई भेटघाट गर्नै मुस्किल थियो ।” उहाँले काम गर्ने सुरुआती चरणमा नै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गमैत्री भौतिक संरचना हुनुपर्छ भनेर आवाज उठाउँदै आएको बताउनुहुन्छ । देशमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था एकदम दयनीय रहेको उहाँले बताउनुभयो । श्रेष्ठले २०६५ सालसम्म अपाङ्ग संघमा रहेर काम गर्नुभयो । ०६२ सालमा उहाँले चितवनमा नै अपाङ्ग जागरण अभियान चितवनको स्थापना गर्नुभयो ।

त्यस लगत्तै श्रेष्ठले चितवनमा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आउनुभएको छ । उहाँले यो अभियान खोलेपछि अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार पनि दिनुभएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिहरुका लागि सीपमूलक तालिम, सचेतनामूलक कार्यक्रमहरु गर्दै आउनुभएको छ । अहिले उहाँले अपाङ्गता भएका व्यक्तिहरुका लागि भनेर दुई वटा तालिम केन्द्र खोल्नुभएको छ । यसका लागि भरतपुर महानगरपालिकाले पनि केही सहयोग गरेको उहाँले बताउनुभयो ।

अपाङ्ग जागरण अभियान चितवनले अहिले अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तकला मूर्ति बनाउने र सिलाइबुनाई काम दिलाएर रोजगारका अवसर प्रदान गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई दया, मायाको रुपमा मात्रै नभएर उनीहरुको क्षमता अनुसारको अवसर दिनुपर्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>