Breaking News

देवघाटको रामजानकी बालिका आश्रम : योग, ध्यान र मन्त्रोच्चारणमा रमाउँदै ३२ बालिका

Banner

चितवन, पुस २-

नारायणी नदीको सुसाइसँगै घन्किरहेका संस्कृत श्लोक, भजनका झङ्कार । छोरीहरुको आँखामा खुलेको भविष्य, उनीहरुले सजाएका सपना । यो दृश्य आधुनिकता र आध्यात्मिकताको फ्युजन हो । जो हास्दैछन्, खेल्दैछन् र सिक्दै छन् सजिलै गाह्रा संस्कृतका श्लोक, भजन र मन्त्रहरु । हार्मोनियम, तबला र मादलका धुनमा लय भर्देछन् । यो दृश्यलाई भरतपुर महानगरपालिका–१ देवघाटमा रहेको लोककल्याण सेवा प्रतिष्ठान सेवाद्वारा सञ्चालित रामजानकी बालिका आश्रमले सजाइरहेको छ ।

अझै पनि हाम्रो समाज छोरीको लागि उति साह्रो उदार छैन । एक हिसाबले उनीहरुले पढ्ने, लेख्ने सपना देख्ने प्रक्रिया भर्खरै सुरु हुँदैछ । त्यसमा पनि संस्कृत छोरीले पढ्ने त झनै असम्भव प्राय कुरा नै हो । तर, चुनौतीका पर्खाल भत्काउँदै बालिका आश्रम अगाडि बढ्दैछ । पण्डितले मात्रै पूजाआजा गर्दै आएको समाजमा दलितले संस्कृत पढ्नै हुन्न भन्ने कथित शास्त्र र समाजको चुनौतीलाई चिर्दै हरेक समावेशी जातीय पहिचान भएका बालिकालाई ‘आमा’ र ‘मामा’को साहारा बन्दै आश्रमले संस्कृत अध्ययन गराइरहेको छ । आश्रममा अहिले ३२ जना बालिका रहेका छन् । आश्रमले आमाबाबु तथा आफन्तको संरक्षणबाट टाढा रहेका नानीहरुलाई साहारा र शिक्षा दिने गरेको छ । उनीहरु देवघाटकै सिताराम संस्कृत माध्यमिक विधालयमा अध्ययन गरिरहेका छन् ।
एउटा अनिवार्य  संस्कृत विषयबाहेक अन्य विधार्थीले जस्तै गणित,अंग्रेजीलगायतका अन्य विषयहरु पनि अध्ययन गरिरहेका छन् । आश्रममा बसेर अध्ययन गरिरहेकी निलम विक लोककल्याणी अहिले १४ वर्षकी भइन् ।२०७४ सालबाट आश्रममा बस्न थालेकी उनी अहिले कक्षा ८ मा पढ्छिन् ।
संस्कृत अध्ययनलाई पनि सँगसँगै लिएर हिडेकी उनी आत्मविश्वासी छन् । आश्रम आएपछि उनको व्यक्तित्व नै परिवर्तन भएको छ । पहिले अरुकै घरमा बसेर भरतपुरकै एक विधालयमा पढ्थिन उनी । अहिले पारिवारिक वातावरणमा संस्कृत अध्ययनमा पनि विशेष ध्यान दिइरहेकी छिन् । गुरुकुलीय शिक्षामा उनले आधुनिक र आध्यात्मिक शिक्षा लिइरहेकी छिन् ।
समाजमा जातीय विभेद छ भन्ने उनलाई राम्रोसँग थाहा छ र उनमा यो सबै कुरालाई चिरेर अगाडि बढ्ने चाहना छ ।

वेद, पुराण पुरोहितले मात्र पढ्नुपर्छ भन्ने कुरालाई चुनौती दिँदै सस्कृत शिक्षालाई सबैको पहुँचमा पु¥याउने उनको धोको छ ।

आश्रममा उनीहरु बिहान साढे चार बजे उठ्छन । योग, ध्यान, मन्त्रोच्चारण बार अनुसारका नित्य कर्म गर्दै यसरी नै उनीहरुको दैनिकी सुरु हुन्छ ।
सुनिता बटाला लोककल्याणी कक्षा ११ मा ज्योतिषी अध्ययन गरिरहेकी छिन् । उनले गत सालको एसईईमा ३.९५ जिपीए ‘ए प्लस’ ल्याएकी थिइन् । १७ वर्षीय सुनिताले उच्च शिक्षामा आईटी पढ्नको लागि छात्रवृत्ति प्राप्त गरेकी थिइन् । भर्ना पनि भइन् तर मन संस्कृत विधामै फर्कियो । फेरि संस्कृत विधा अन्र्तगतकै ज्योतिष पढ्न थालेकी छिन् । उनलाई भविष्यमा यो नै गर्छु भन्ने त थाहा छैन तर संस्कृत विषयलाई नै उजागार गर्ने उनको इच्छा छ । उनी कविता पनि लेख्छिन् । प्रदेशस्तरीय कविता प्रतियोगितामा गत साल प्रथम स्थान नै हासिल गर्न सफल भएकी थिइन् । राष्ट्रिय स्तरको प्रतियोगितामा भने दोस्रो भइन् । यहाँ भएका हरेक बालिकाका आफ्नै खालका सपना छन् भने सबैको आफ्नै प्रतिभा पनि छन् ।
१२ वर्षीय कल्याणी लोककल्याणीले पनि आफूभित्र छुट्टै खालको आत्मविश्वास र सपना देख्न थालिसकेकी छन् । उनलाई केटाले मात्रै संस्कृत पढ्नुपर्छ भन्ने कुरा अन्धविश्वास लाग्छ । उनी भन्छिन् ‘आआफ्नो इच्छाबमोजिमको शिक्षा सबैले लिन पाउनुपर्छ, शिक्षामा लंैगिकता घुसाउनु अधिकार हनन जस्तै हो’। उनी अहिले ८ कक्षामा अध्ययन गर्दैछिन् । जसले जस्तो शिक्षा लिन चाहन्छ सहजै लिन पाउनुपर्ने उनी तर्क गर्छिन् । आफूहरु गुरुकुलमै पढेका केटासँग संस्कृतका हरेक क्षेत्रमा आफूहरु प्रतिस्पर्धा उत्रन सक्ने बताउँछिन् । छोरीहरु पनि आफैँमा कमजोर नभएको उनी सुनाउँछिन् । भरतपुर महानगरको बालसञ्जालको सचिवसमेत उनी हुन् । उनलाई भविष्यमा वकिल हुन मन छ । छोरी र बालबालिकाको लागि काम गर्ने सोच छ । नेपालकै कान्छी भागवत वाचिका स्मृति टण्डन जस्ता प्रखर वक्तmा पनि आश्रमले उत्पादन गरिसकेको छ । स्मृतिले १७ वर्षको उमेरदेखि भागवत वाचन गर्न थालेकी हुन् । अहिले उनी संस्कृत शास्त्री विधा अध्ययन गरिरहेकी छिन् ।

आश्रम अहिले भरतपुर महानगरद्धारा प्रदान गरिएको जग्गामा सञ्चालित छ । आश्रमकै लागि अहिले महानगरले उपलब्ध गराएको जग्गामा तीन तले भवनको निर्माण काम थालिएको छ । आश्रमलाई विशेष गरी अहिले दुई जनाले संरक्षण दिइरहेका छन् । जसमा सावित्री टण्डन र रामेश्वर खनाल रहेका छन् । अध्यक्ष टण्डनलाई उनीहरु ‘सावित्री आमा’ भन्छन् अनि महासचिव खनाललाई ‘मामा’ । आश्रमको परिकल्पनाकार खनालले र टण्डनले हरप्रकारले छोरीलाई सक्षमताको बाटो देखाउन प्रयत्नशिल रहेको बताउँछन् । बाबुआमा र आफन्तविहीन बालिकाहरुलाई १० वर्षदेखि आधुनिक शिक्षा, गुरुकुलीय शिक्षा पद्धतिबाट शिक्षा दिइरहेको महासचिव खनालले जानकारी दिए ।
वेद भागवत, श्रीमद्भागवत गीता, रामायणलगायतका संस्कृत विषयहरुमा अध्ययन गराइरहेको उनले बताए । आश्रममै शिक्षक राखेर पनि संस्कृत अध्ययन गराइरहेको आश्रमका बालिकाहरु संस्कृत मावि देवघाटमा अध्ययन गरिरहेका छन् ।
आश्रममा छोरीहरुलाई संस्कृत अध्ययन गराउँदा उत्तिकै चुनौती र हास्यस्पद घटना पनि भोग्नु परेका अनुभव सुनाउँछन रामेश्वर । रत्ननगर टाँडी भण्डारामा साना साना चार वर्षका नानीहरुले गीता पाठ गर्ने कार्यक्रम रहेको थियो । दलितका बच्चाहरु नी पढाउने आश्रमबाट गीता पढ्ने भन्दै कार्यक्रम बहिष्कार गरेको जस्ता तिता अनुभव गरेको पनि सुनाउँछन् ।
यद्यपि शास्त्रमै उल्लेखित देवी, लक्ष्मी, सरस्वतीको स्वरुपमा मानेका छोरीहरुकै मुखबाट व्यासबाटै देवी भागवतका श्लोकहरु , श्रीमद् भागवतका मन्त्रहरु पाठ गरिरहेको उनले बताए । समाजमा रहेका कुरीति फाल्न किताबका पन्नामा, संविधानमा मात्रै उल्लेख गरेर मात्र नहुने उनी बताउँछन् । साच्चैको व्यवहारमा परिवर्तन आवश्यक ठानेर हरेक समावेशी जातजातिका बालिकाहरुलाई उज्जवल भविष्यको लागि काम गरिरहेको उनले बताए ।
यस्त प्रतिष्ठानकी अध्यक्ष सावित्री टण्डनले अभिभावकबाट संरक्षण नपाएका छोरीहरुले पनि पढ्न पाउनुपर्छ भन्ने आश्रमको उद्देश्य रहेको बताउँछिन् । माया र संरक्षणको खाँचो रहेको नानीहरुको लागि छिट्टै भवन निर्माण हुनेमा उनी विश्वस्त रहेको बताइन् । अहिले ३२ जना बालिका रहेको आश्रममा १०८ जनासम्म बालिकालाई वेद उच्चारण गराउने उनको संकल्प छ । आश्रम अहिले विभिन्न अवसरमा विभिन्न व्यक्तित्वहरुले गर्ने सहयोगबाट चल्दै आएको छ । आश्रममा हुर्कर्दै गरेका बालिकाहरुको आत्मविश्वास, लगनशिलता र प्रतिभा साच्चै अद्भूत रहेको पाउँन सकिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>