नवलपुर

पहुँच नपुगेका ठाउँको विकासमा मेरो प्राथमिकताः सांसद गाहा

Banner

ज्ञानु पंगेनी

नवलपुर, कात्तिक २६

कावासोती नगरपालिका–८ को भेरी गुडचोकदेखि जनकल्याण टोलसम्मको ६५८ मिटर बाटो कालोपत्रे भएको छ ।

गण्डकी प्रदेश संसद विकास कोषको ५६ लाख ५८ हजार ५७२ रुपैयाँको लागतमा पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्व मार्फत् उक्त बाटो कालोपत्रे गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले बुधबार उक्त बाटो उद्घाटन गर्दै आफूले जनताको मागलाई सम्बोधन गरी बाटोका लागि बजेट बिनियोजन गरेको बताए । उनले भने, ‘जहाँका जनता पहँचमा छैनन्, जुन ठाउँ पछाडि परेको छ , त्यस्ता ठाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणका काममा बजेट बिनियोजन गर्दै आएको छु ।’ ‘पहँुच पुगेका र बजार क्षेत्रका ठाउँहरुमा सहजै विकास हुन्छ तर जहाँ पहुँच पुग्दैन त्यस्ता ठाउँको विकास गर्नुपर्छ भन्ने मेरो धारणा छ । सोही अनुसार मैले काम गरिरहेको छु ।’ गाहाले भने । गाहाले यसपटक कावासोतीका ग्रामीण क्षेत्रका बाटोलाई कालोपत्रे गर्न बजेट बिनियोजन गरेको बताए । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने देवचुलीमा पनि पहाडी क्षेत्रको बाटोको काम भइरहेको उनले बताए । ‘मुन्डेदेखि कीर्तिपुर , कीर्तिपुरदेखि बन्दीपुर , बन्दीपुरदेखि कदमपुर र कदमपुरबाट चौधरी चाउचाउ फ्याक्ट्रीको पछाडिसम्म आउने पहाडको रिङरोडका रुपमा नमुना सडक बन्दैछ । आउँदो डेढ वर्षभित्र सम्पन्न हुन्छ । पहाडको बुलिङटारमा अहिलेसम्म कसैले बनाउन नसकेको बगैँचाचोक र दलित मार्ग दुई वटा सडकमा ढुंगा सोलिङ मार्फत् ढलान मार्फत् पक्की सडक बन्दैछ । यो पहाडी क्षेत्रको विकासमा नमुना काम हो । ’ पहाडी क्षेत्रमा कालोपत्रे सडक निर्माण गर्न समस्या हुने हुँदा यसरी ढुंगा सोलिङ मार्फत् ढलान गरी सडक निर्माण गरिएको गाहाले बताए । गर्न चाह्यो भने जस्तोसुकै काम पनि सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण बुलिङटारको सडकबाट सिकेको उनले बताए । संघीयता, प्रदेश र स्थानीय तह नभएको भए अहिले जसरी गाउँगाउँको विकास भएको छ , त्यो सम्भव नहुनेमा गाहाको जोड थियो ।

बाटो निर्माण समितिका अध्यक्ष नारायण आचार्यले आफूहरुको गुनासो सुनेर बाटोका लागि बजेट बिनियोजन गरेकोमा सांसद गाहालाई धन्यवाद व्यक्त गरे । उनले आफ्नो टोलका अन्य विकास निर्माणका काममा पनि आगामी दिनमा साथ र सहयोग गर्न आग्रह गरे । आफ्नो गाउँठाउँको विकासका लागि सकेको पहल गरिरहेको र बाटो पनि गुणस्तरीय निर्माण भएकोमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कावासोती वडा नम्बर १० का अध्यक्ष टेकबहादुर महतो, वडा नम्बर आठका वडा सदस्य देवी पौडेल, चन्द्रगुप्त अधिकारी, नेकपा जिल्ला कमिटी सदस्य बाबुराम विश्वकर्मा , पूर्वाधार विकास कार्यालयका प्रमुख रविन्द्र तिवारीलगायतको सहभागिता रहेको थियो ।
बाटो निर्माण समितिका अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नारायण पौडेलले सहजीकरण गरेका थिए । शिव निर्माण सेवा विनयी त्रिवेणीले बाटो निर्माणको ठेक्का लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>