समाचार
सांसद बामदेव गौतम विरूद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै

काठमाडौं, कात्तिक २६-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिट आजको संवैधानिक इजलासमा तोकिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ ।
महिनादिन अघि हेर्दाहेर्दै सारिएको वामदेव विरूद्धको मुद्दाको पेशी बुधवार तोकिएको हो ।
प्रधानन्यायाधीशको अध्यक्षता रहने संवैधानिक इजलास बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन बस्छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट दिएका थिए ।

























