Breaking News

नारायणगढ-बुटवल सडक विस्तारः साना पुल भत्काएर फराकिलो बनाइँदै

Banner

नवलपुर,कार्तिक २६-

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल पूर्वका २० मिटर भन्दा साना पुलहरु भत्काइने भएको छ । पुल भत्काइने भएपछि सवारी साधन ओहोर दोहोर गराउन नजिकै ह्युमपाइप राखेर अस्थायी डाइभर्सन बनाइएको छ । नारायणगढ बुटवल सडक विस्तार आयोजना अन्तर्गत नयाँ पुल निर्माणका लागि पुराना पुल भत्काउन लागिएको हो । राजमार्गलाई ४ लेन र ६ लेनमा विस्तार गर्ने पक्रिया अघि बढेको छ । साना पुलहरुलाई भत्काएर ४ लेनको लागि नयाँ पुल बनाइने छ ।

नारायणगढ बुटवल सडक योजना अन्तर्गतक बुटवल–दाउन्ने खण्डमा मात्र २२ वटा साना पुल र अन्य कल्भर्टहरु भत्काएर नयाँ बनाइने सडक योजनाका इन्जिनियर युवराज पाण्डेले बताउनुभयो । ‘२० मिटर भन्दा कमका सबै पुलहरु भत्काएर ४ लेन सडकसँग मिलाउन दुइ–दुइ लेनको दुइ वटा पुल बनाइन्छ’–उहाँले भन्नुभयो–‘त्यस्तै २ सय ४७ कल्भर्टहरुलाई ४ लेनको बनाउने काम पनि सुरु गरिसकेका छौं ।’ साना पुल र कल्भर्टहरु भत्काएपछि तत्कालको लागि नजिकै डाइभर्सन बनाएर गाडी ओहोर दोहोर गराइन्छ । त्यसै गरी २० मिटर भन्दा लामा राजमार्गका मुख्य पुललाई भने यथावत राखिने आयोजना इन्जिनियर पाण्डेले बताउनुभयो ।

‘ठूला पुलहरुलाई यथावत राखन्छ । त्यसको दक्षिण तर्फबाट अर्को दुइ लेनको फुटपाथ सहितको पुल बनाइन्छ’–उहाँले भन्नुभयो–‘३ वटा ठूला पुलको फाउण्डेसनको पनि काम भइरहेको छ ।’ दाउन्ने पश्चिम खण्डमा २० मिटर भन्दा लामा ९ वटा पुल रहेको छ । त्यसै गरी दाउन्ने पूर्व नारायणगढ सम्मका सडकका पुलहरु पनि मर्मत थालिएको छ ।

पूर्वतर्फ १२ वटा ठूला पुल, २२ वटा साना पुल र २ सय १६ वटा जति कल्भर्टहरु रहेका छन् । यी मध्ये ६ वटा साना पुल र २८ वटा कल्भर्टको निर्माणको काम सुरु गरिएको नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो ।

‘६ वटा साना पुल निर्माणको क्रममा छन् । अर्को एउटा मेजर पुलपनि फाउण्डेसन बनाउने काम भइरहेको छ’–उहाँले भन्नुभयो । पुल बाहेक पश्चिम खण्डमा खैरेनी सुनवल सडक खण्डमा बाटो विस्तारको काम भइरहेको छ । पूर्वी खण्डमा पनि नारायणगढ १५ किलोमिटर सडकको काम भएको छ । यी दुवै ठाउँमा माटो पट्याउने नाली निर्माण लगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।

नारायणगढ बुटवल सडक विस्तारको लागि २०७५ साल चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिलन्यास गर्नुभएको थियो । कुल १ सय १५ किलोमिटर सडक विस्तारका क्रममा बस्ती क्षेत्रमा ६ लेन र बस्ती नभएको ठाउँमा ४ लेनको सडक बन्ने छ । जस अनुसार कुल २८ किलोमिटर सडक ६ लेनको हुने छ ।

नारायणगढ बुटवल सडकलाई दुई भागमा बाँडेर काम हुँदैछ । दाउन्ने पुर्वको साढे ६४ किलोमिटर सडकको लागि ९ अर्ब १३ करोड १८ लाख र दाउन्ने पश्चिम वुटबलसम्मको साढे ४८ किलोमिटर सडकको लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

ठेक्का सम्झौता भएको मिति २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र आयोजनाको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर कोरोना महामारी लकडाउनको लगायतका कारण काममा ढिलाइ भएपछि म्याद थपिने सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>