Breaking News

चितवनमा निषेधाज्ञाले तरकारीको मूल्य आकाशियो, गोलभेँडा किलोको १३० पुग्यो

Banner

चितवन, भदौं १८-

चितवनमा बढ्दो कोरोना संक्रमणले भएको निषेधाज्ञासहितको लकडाउनले तरकारीको मूल्य बढेको छ ।

बजारमा पसलहरु बन्द रहेर मानिसहरुको चहलपहल घटेसँगै माग र आपूर्ति कम हुँदा तरकारीको मूल्य आकाशिएको हो । अहिले निरन्तरको कोरोना संक्रमणले एकातिर किसानहरु खेती गर्न उत्साहित छैनन् भने अर्काेतिर चितवन बाहिरबाट आउने तरकारी पनि संक्रमणको डरले सहजरुपमा ढुवानी हुन सकेको छैन ।

फलफूल तथा तरकारी व्यवसायी संघका कोषाध्यक्ष रामराज पाण्डेले लकडाउनले किसानहरु पनि खेती गर्न उत्साहित नभएकोले उत्पादन घट्दा तरकारीको मूल्य बढेको बताउनुभयो । उहाँले नारायणी अनलाइनलाई भन्नुभयो, ‘ अहिले धादिङ र गोरखातिरका किसानहरुले लकडाउन र निरन्तरको वर्षाले तरकारी खेतीमा खासै जागर देखाएका छैनन् । अहिले काठमाडौँदेखि गोलभेँडा ल्याउनुपर्ने बाध्यता छ ।’ पाण्डेले पोखरामा कोरोना सर्छ भन्दै तरकारी खाल्टामा हालेपछि पनि किसानहरुमा उत्साह सेलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा मानिसहरुको चहलपहल पनि छैन । ढुवानी गर्नेहरुमा पनि काम गर्ने उत्साह छैन ।’

अहिले बजारमा सबैभन्दा महंगो तरकारी गोलभेँडा छ । कालीमाटीको बजारमा एक क्रेट गोलभेँडाको मूल्य दुई हजार तीन सय रुपैयाँ पुगेको छ । लकडाउन अगाडि एक क्रेट गोलभेँडाको मूल्य एक हजार ८०० पनि थिएन । होलसेल मूल्य नै किलोको १०० रुपैयाँ भएपछि खुद्रा मूल्य १३० रुपैयाँ बढी तिर्न सर्वसाधारण बाध्य छन् । गोलभेडा खरिदका लागि व्यवसायीहरु पूरै काठमाडौँको बजारमा निर्भर हुनु परेको व्यवसायीहरु बताउँछन् । बिगतमा गोरखाको मनकामना, धादिङका विभिन्न क्षेत्रबाट गोलभेडा आउने भए पनि यस वर्ष भने त्यताबाट गोलभेडा आएको छैन ।

अहिले बजारमा बोडी ९५ रुपैयाँ प्रतिकेजी, काउँली ८० रुपैयाँ, स्कुस ३० रुपैयाँ, काक्रो ३० रुपैयाँ , करेला ३० रुपैयाँ, आलु नयाँ ७५ रुपैयाँ, आलु पुरानो ५५ रुपैयाँ रहेको छ । सबैभन्दा सस्तो तरकारीमा बन्दा, घिरौला र प्याज रहेका छन् । होटलहरु बन्द हुँदा बन्दाको खासै व्यापार नभएको व्यवसायीहरु बताउँछन् त्यस्तै घिरौलाको उत्पादन बढी भएकोले पनि सस्तो भएको छ । प्याज पर्याप्त बजारमा स्टक रहेको छ ।
भरतपुर महानगरपालिका–१० मा ठेला व्यवसायमार्फत् तरकारी व्यापार गर्ने कुमार विश्वकर्माले व्यवसायीहरुले कोरोना संक्रमण बढेसँगै धेरै खतरा मोलेर तरकारी झारिरहेकोले पनि मूल्य बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ बाहिरबाट तरकारी कम आएकोले पनि मूल्य आकाशिएको हो । हामीले पनि निर्धक्क भएर व्यापार गर्न पाएका छैनौं । सर्वसाधारणहरुले पनि निर्धक्कसँग किन्न पाएका छैनन् ।’

चितवनलगायत कतिपय तराईका क्षेत्रमा बढ्दो झरीसँगै पानी तालिएकोले पनि तरकारी खेतीमा समस्या भएको किसानहरु बताउँछन् । भरतपुर महानगरपालिका–२४ कोरुङ्गामा सहकारी मार्फत् तरकारी खेती गरिरहनु भएको निशा अधिकारीले यस वर्ष मौसमले साथ नदिएकोले कतिपय तरकारीको बीउ रोप्न नै नपाएको नारायणी अनलाइनलाई बताउनु भयो । उहाँले भन्नुभयो,‘ बिहीबार दिउँसो पनि हामी टमाटर बिउ रोप्दै थियौं । ।पानी आएर अलमलमा पा¥यो । त्यो काम फेरि गर्नुपर्ने भयो ।’ उहाँले कतिपय तरकारी वर्षाले पानी तालिँदा दुई पटक रोप्नुपरेको बताउनुभयो । अघिल्लो पटक लकडाउनले असर गरे पनि अहिले तरकारी मजाले गइरहेको छ तर पनि बिचौलियाले गर्दा किसानले खासै मूल्य नपाएको उहाँले बताउनुभयो ।

त्यस्तै कतिपय किसानलाई भने बढ्दो कोरोना त्रासले बजार बन्द हुँदा खासै काम गर्ने उत्साह पनि जागेको छैन । भरतपुरको कैलाशनगरस्थित शान्ति चोकमा तरकारी खेती गर्दै आउनु भएको राधा दवाडीले कोरोनाले तरकारीको बिक्री नै कम भएपछि उत्साह मरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘साउनमा परेको ठूलो पानीले खेतमा पानी तालिँदा करेलाको बोट म¥यो । अहिले पानी तालिएकोले खासै अन्य तरकारी लगाएको छैन । अब पानी सुकेपछि साग लगाउने तयारी गर्दै छौं ।’ यसरी कोरोना महामारीले कृषक त मारमा परेकै छन् । बजारमा चहलपहल नभएर तरकारीको माग घट्दा सर्वसाधारण महंगो खुद्रा मूल्य तिर्न बाध्य छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>