Breaking News

स्वास्थ्यकर्मीको श्रमशोषण गर्दै पुरानो मेडिकल कलेज, तलब र भत्ता बिना कोरोना संक्रमितको उपचारमा नर्सहरु

Banner

चितवन, भदौं १६-

बढ्दो कोरोना संक्रमणले समग्र चितवन जिल्ला आक्रान्त भएको छ । सबै अस्पतालका स्वास्थ्यकर्मीहरु कोरोनाले संक्रमित छन् । संक्रमणको जोखिम सबैलाई समान नै छ तर अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीमाथि गरिने व्यवहार भने अस्पताल अनुसार फरक फरक पाइन्छ । यस्तो विपद्को समयमा पनि भरतपुरको पुरानो मेडिकल कलेजले भने नर्सहरुको चरम श्रम शोषण गरिरहेको नर्सहरु बताउँछन् । एकातिर तलब समयमा प्राप्त हुँदैन भने अर्काेतिर जोखिम भत्ताको त कुरै छाडौँ आवश्यक सुरक्षा सामग्री पनि पर्याप्त नभएको उनीहरुको गुनासो छ ।

मेडिकल कलेजका १४३ जना नर्सहरुले सामूहिकरुपमा मागहरु राखेर सोमबार कलेज प्रशासनसम्म पुगे तर कलेजका प्रमुख नटराज आएपछि नर्सहरुको समस्या समाधान हुने भन्दै प्रशासनले फर्कायो । १५ दिनमा समस्याको समाधान हुन्छ भन्ने आशा गरेर सबै काममा फर्किएको आईसीयूमा काम गर्ने एक नर्सले नारायणी अनलाइनलाई बताउनुभयो । उहाँलाई मिडियाको अगाडि नाम भन्दा पनि नर्सिङ विभागकी डेपुटी सुपरिटेन्डेण्ट सीता पराजुलीले थाहा पाउँनु हुन्छ कि भन्ने डर थियो । समूहमा पराजुलीको अगाडि केही भन्न गए पनि व्यक्तिगतरुपमा भने उहाँको अगाडि उभिँदा धेरैको सातो जाने गर्छ । पराजुली भने यसबारे मिडियासँग खासै केही बोल्न चाहनु भएन ।

अस्पतालका नर्सहरुले तीन महिनादेखि तलब नपाएको भनेर प्रशासनमा गुनासो गर्दा बल्लबल्ल एक महिनाको तलब पाए तर अझै दुई महिनाको पाउन बाँकी नै छ । कोरोनाका बिरामीहरु हेर्नुपर्ने उनीहरुको बाध्यता छ भने अर्काेतिर उनीहरुको नत बिमा गरिएको छ नत कुनै जोखिम भत्ताको नै व्यवस्था गरिएको छ । संक्रमणको जोखिमको बीचमा काम गर्नुपर्ने बाध्यता भएको अस्पतालका नर्सहरुले नारायणी अनलाइनलाई बताए ।

अस्पतालका डाक्टरहरुले भने उनीहरुले माग गरे बमोजिम सेवा सुविधा पाए पनि नर्सहरु भने सधै पीडामा परेको नर्सहरुको गुनासो छ । अस्पतालका मुख्य सञ्चालक डाक्टर भि नटराज प्रसादलाई स्वास्थ्यकर्मीले लकडाउनयता देखेका छैनन् तर अस्पताल प्रशासन भने उहाँ आएपछि सबै माग पूरा हुन्छ भन्दै नर्सको मागलाई थमथम्याउने प्रयास गरेको छ ।

नेपाल नर्सिङ संघको केन्द्रीय उपाध्यक्ष रमेश सुब्बाले आफूहरु पुरानो मेडिकल कलेजलगायत देशका सबै मेडिकल कलेजले नर्सहरुप्रति गर्ने व्यवहारको बारेमा जानकार नै रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ निजी मेडिकल कलेज र स्वास्थ्य मन्त्रालयबीचमा नै एकप्रकारको मिलेमतो छ । नर्सहरुले पाएको पीडाबारे संघीय सरकार र स्थानीय सरकारले पनि आँखा चिम्लिएका छन् ।’ उहाँले कोरोना महामारीको समयमा मेडिकल कलेज सञ्चालकको मानवता नै हराएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पैसा छैन भनेर नर्सलाई तलब नदिने कलेजहरु अर्काे ठाउँमा धमाधम लगानी गर्दै छन् ।

सरकारले तोकेको कार्यालय सहायकको तलब १८ हजार हुँदा निजी मेडिकल कलेजमा नर्सको तलब जम्मा १३ हजार मात्र छ । यो आफैमा लाजमर्दाे कुरा हो । ’ नेपाल नर्सिङ संघ पुरानो मेडिकल कलेज मात्र नभएर सबै अस्पतालमा नर्सहरुले उस्तै खाले पीडा भोगेको बताउँछ । अस्पतालमा अहिलेसम्म २८ जना स्वास्थ्यकर्मीरकर्मचारीमा कोरोना संक्रमण देखिएको छ । संक्रमणको जोखिममा कलेज सञ्चालकहरुले अग्रमोर्चामा खटिएर निरन्तर स्वास्थ्य सेवा दिने नर्सहरुको हौसला र उत्साह बढाउनुपर्नेमा झनै पीडा दिनु पक्कै पनि मानवीय कार्य होइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>