प्रवास

विदेशमा थप तीन नेपालीको कोरोना संक्रमणले मृत्यु

Banner

लन्डन, भदौं १४-

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार यो साता बेलायतमा एक जना र युएईमा दुई जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७०१ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४१० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित संख्या र सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभयो ।

डा सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गर्नुभएको हो । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उहाँले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गर्नुभएको हो । आफुलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा सापकोटाको भनाइ छ ।

मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगीत सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गर्नुभयो । ’कोभिड–१९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उहाँले सचेत र सावधान रही अघि बढ्न आग्रह गर्नुभयो । कोरोना भाइरस विरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्डलगायतका देशमा तीव्र गतिमा उत्पादन र परीक्षणको प्रक्रिया अघि बढेको छ ।

५३ हजार ६९९ नेपालीको उद्धार

विदेशमा अलपत्र परेका ५३ हजार ६९९ जना नेपालीको उद्धार भएको छ । गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवम् दूतावासको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>