Breaking News
नारायणी सामुदायिकबाट कोरोना संक्रमितलाई भरतपुर अस्पताल सारियो

चितवन, असार १७–
भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलमा उपचाररत कोराना संक्रमितलाई भरतपुर अस्पतालमा सारिएको छ । आज (बुधबार) विहान कोरोना पुष्टि भएका बिरामीलाई भरतपुर अस्पतालमा सारिएको हो ।
पूर्वीचितवन राप्ती नगरपालिका–१ की १२ वर्षीया कोरोना संक्रमित बालिकालाई भरतपुर अस्पतालमा सारिएको छ । अर्का संक्रमित खैरहनी नगरपालिका–७ का ६१ वर्षीय पुरुषलाई केहीबेरमा भरतपुर अस्पतालमा सारिने भरतपुर अस्पताल कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए । ‘कोरोना संक्रमित बालिकालाई ल्याई सकेका छौं, अर्का पुरुषलाई ल्याउने तयारी भइरहेको छ’–डा.पौडेलले भने । उनका अनुसार ती ६१ पुरुषमा अन्य रोगको संक्रमण रहेकाले उनलाई सघन कक्ष (आइसीयू) राखेर उपचार गर्ने तयारी भइरहेको छ । सरकारले निजी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न अनुमति नदिएकाले निजी हस्पिटलमा कोरोना पुष्टि भएका बिरामीहरुलाई सरकारी अस्पतालमा सार्ने गरिएको छ ।
यस्तै भरतपुर अस्पतालमै उपचारर दुई जना कोरोना संक्रमितलाई पनि आइसीयूमा सार्ने तयारी भइरहेको डा.पौडेलले बताए । आज (बुधबार) विहान पुष्टि भएका माडी नगरपालिकाका एक जना र झापा दमकका एक जना महिलालाई आइसीयूमा सार्ने तयारी भइरहेको डा.पौडेलले जानकारी दिए । ‘उनीहरुमा मुटु, निमोनियालगायतको रोग देखिएकाले पहिल्यै सतर्कता अपनाई आइसीयूमा राख्ने तयारी गरेका छौं ।’
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (बुधबार) विहान चितवनका १३ जनासहित कुल २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
























