Breaking News

कृषि यन्त्रको प्रयोग गर्दै चितवनको माडीमा मनाइयो धान दिवस (तस्वीरसहित)

Banner

चितवन,असार १५-

चितवनको माडीमा आज (सोमबार) १७ औं राष्ट्रिय धान दिवस मनाइएको छ । सहकारी मार्फत संचालन गरिएको सामुहिक चक्लाबन्दी खेतीमा मेसिनले धान रोपेर दिवस मनाइएको हो ।

बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले मेसिनको प्रयोग गरी धान रोपेर दिवसको उद्घाटन गरे । त्यस क्रममा उनले कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको बताए । उनले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको बताए । उनले भने,‘माडीको चक्लाबन्दी खेती सबैलाई उदारण दिने खालको बनाउनु छ, त्यसका लागि सबैले अग्रसर भएर काम गर्नुहोस ।’ उनले चक्लाबन्दी खेती सफल भए मात्र कृषि क्षेत्रमा उत्साहा थपिने धारणा राखे । माडी उर्भर भूमि रहेको भन्दै उनले अन्न भण्डारको रुपमा विकास गर्दै लैजाने बताए ।

यस्तै जिल्ला समन्वय समिती प्रमुख कृष्णकुमार डल्लाकोटीले पहिले र अहिलेको माडीमा धेरै परिवर्तन आएको बताए । माडीमा भएको कामले उत्साहा जगाएको भन्दै चक्लाबन्दी खेती नमूना बन्ने बताए ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीको चक्लाबन्दी खेती बागमती प्रदेशको गौरबको क्षेत्र भएको बताए । उनले लागत घटाउन यन्त्रिकिकरणको प्रयोग गर्दै सामुहिक खेतीमा प्रवेश गरेको जानकारी दिए । सामुहिक खेतीमा माडी नगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रदेश नम्वर ३ सरकारको सहयोगमा माडी नगरपालिका ८ कान्तिपुरमा रहेको सूर्याेदय सहकारी संस्थाले किसानको जग्गा एकिकरण गरी चक्लाबन्दी खेती सुरु गरेको हो । ९६ जना कृषकको १०० विगाह जमिनमा चक्लाबन्दी गरिएको छ । यसबर्ष १५ विगाह क्षेत्रफलमा धान रोप्ने योजना रहेको सहकारीका प्रवन्धक शिवजी गाएकले जानकारी दिए । सो स्थाना १२ विगाहामा माछा पोखरी निर्माण गरिएको छ भने पाडा पालनको योजना अघि बढाइएको उनले बताए ।

वागमती प्रदेश सरकारले चितवनको माडी सहित चार जिल्लामा चक्लाबन्दी खेती सुरु गरेको छ । चक्लाबन्दी खेतीका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान र केन्द्र सरकारले ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण सहयोग गरेका छन् । गतबर्ष मात्रै सो क्षेत्रमा प्रदेश सरकारले १ करोड र माडी नगरपालिकाले १० लाख रुपैंया सहयोग गरेका छन् ।

मेसिनको प्रयोगबाट धान खेतीमा किसानको ५० प्रतिशतसम्म लागत घट्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । उनले सामुहिक खेती सफल बनाउन ज्ञान केन्द्रले निरन्तर प्राविधिक सहयोग गरिरहेको जानकारी दिए ।

कान्तिपुरमा अधिकांश दलित र त्यसमा पनि गन्दर्भ समुदायको बसोबास छ । करिब ४० हजार जनसंख्या बसोबास गर्दै आएको माडीको विकासको आधार कृषि र पर्यटन हो । चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न खहरे खोलाबाट पीडित माडीवासीले दीर्घकालीन रूपमा यसको समाधान खोजेर कृषि उत्पादन बढाउन सकिने बताउँदै आएका छन् ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्की,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख मेघनाथ तिमल्सेना, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख दयाराम चापागाँई, चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>