स्वास्थ्य

बर्दियामा कोरोना अस्पताल बनाउन माग

Banner

धम्बोझी, जेठ ६–

बर्दियाको राजापुर नगरपालिकामा कोरोना अस्पताल बनाउन माग गर्दै राजापुरवासीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश नं ५ का मुख्यमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएका छन् । कोरोना संक्रमण बढिरहेकाले सुविधासम्पन्न अस्पताल आवश्यक रहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेमार्फत मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाइएको हो ।

राजापुर –५ स्थित किसान माविको क्वारेन्टिनमा रहेकी ११ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि लैजाने क्रममा असुविधा भएको भन्दै अस्पताल बनाउन माग गरिएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीको नेतृत्वमा गएको टोलीले तत्काल राजापुरमा आइसोलेशनसहितको अस्पताल बनाउन माग गरेको हो ।

स्थानीयवासीले प्रदेशसभाका सदस्य दीपेश थारु र नगरप्रमुख शिवप्रसाद चौधरीको ध्यानाकर्षणसमेत गराएका छन् । कोरोना संक्रमित बालिकालाई उपचारका लागि दाङको अस्पतालमा भर्ना गराउन समस्या भएको घटना स्मरण गर्दै स्थानीय अगुवाले अबका दिनमा यस्तो समस्या नहोस् भन्नाका लागि राजापुरमै अस्पताल निर्माण गर्न आवश्यक रहेको जनाई जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>