प्रवास
अष्ट्रेलियामा विद्यार्थीका लागि एकाले ल्यायो यस्तो योजना

अष्ट्रेलिया, वैशाख १०–
अस्ट्रेलियन एजुकेसन कन्सलट्यान्ट एलायन्स (एका)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई सहयोग गर्नका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ।
अस्ट्रेलियामा कार्यरत नेपाली शैक्षिक परामर्शदाताहरूको छाता संगठन एकाले कोरोना भाइरसले विश्वभर समस्या निम्त्याएको बेला अष्ट्रेलियामा रहेका विद्यार्थीहरु समस्यामा नपरुन् भन्ने उद्देश्यले योजनाहरु ल्याएको छ । एकाले आफ्ना सदस्य कन्सलटेन्सी र क्राउड फन्डिङमार्फत् पाँच लाखको विद्यार्थी कल्याण कोषका लागि पैसा संकलन सुरू गरेको छ। एकाका मिडिया संयोजक सन्जिव पाण्डेले आर्थिक सहायतासंगै विद्यार्थीहरूको हकहितका लागि विद्यार्थी राहत कोषको स्थापना, विश्वविद्यालय, सरकार र सरोकारवालाहरूसँंग सहकार्य गर्नुका साथै परामर्श सेवामा विशेष सहुलियत अनि मानसिक समस्यामा सहयोग र सचेतना अभियानको थालनी गरेको जानकारी दिए ।
एकाका अध्यक्ष पिआर अधिकारीले कोरोनाका कारण संकटमा रहेका विद्यार्थीका लागि पहिलो चरणमा तत्कालै एक लाख डलर सहायता उपलब्ध गराउने जानकारी दिए । उने नेपाल र अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरूलाई यो अभियानमा सहयोग गर्न समेत अनुरोध गरेका छन्।
एकाले शैक्षिक परामर्शका लागि विद्यार्थीले तिर्दै आएको सेवा शुल्कमा सहुलियत दिन समेत सबै सदस्य कन्सलटेन्सीलाई आग्रह गरेको मिडिया कमिटीका सदस्य सन्दीप खनालले जानकारी दिए ।
























