देश/प्रदेश

प्रदेश सरकारद्वारा दोस्रो चरणको राहत प्याकेजको घोषणा

Banner

धनुषा, वैशाख ७–

कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरीब तथा दैनिक ज्यालादारीका मजदूरका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले लक्षित परिवारको घरमा सोझै राहत पुर्‍याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।
पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई दृष्टिगत गरी प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्‍याउने योजना ल्याएको छ । स्थानीय तहले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारको लिष्टका आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरीद गरी प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।
त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरणहरु खरीद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ । उक्त रकमले थप पिसिआर मेशिनसहितका अन्य उपकरणहरु खरीद गरिने जनाएको छ । मन्त्रिपरिषद्ले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना बिरामीको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>