देश/प्रदेश
महामारीलाई पराजित गर्ने मुख्य जिम्मेवारी सरकारको हो : राप्रपा

काठमाडौं, बैशाख ७-
‘कोभिड १९’ महामारीको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहमासर्वदलीय संयन्त्र गठन गर्न सरकारलाई सुझाव दिएको छ । पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले आइतबार विज्ञप्ति जारी गर्दै केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुने सुझावसमेत दिएका छन् ।
‘विश्व इतिहासमा नै अत्यन्त त्रासदीपूर्ण रहेको यो महामारीलाई पराजित गर्ने मुख्य जिम्मेवारी सरकारको हो भन्नेमा कुनै विवाद छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा सरकारले चालेको र चाल्ने कदममा राप्रपाको सदैव सकारात्मक धारणा रहने छ । समस्याको संवेदनशीलता र गंभीरता दृष्टिगत गर्दै तथा विगतका परम्परा र अनुभवलाई समेत विचार गरि सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यबारे सबैलाई जानकारी दिन सबैतहमा सर्वदलीय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ ।’
राप्रपाले ‘कोभिड १९’ महामारीको अग्रिम पंक्तिमा रहेर कामगर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारणमाथि ज्यादती भएको भन्दै यस्ता कार्य दोहोरिन नदिन सरकारसँग आग्रहसमेत गरेको छ । सरकारले यो बेला बल प्रयोग होइन, सही सूचनाको प्रवाह र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा राप्रपाले जोड दिएको छ ।
महामारी फैलिएको महिनौं भैसक्दा पनि स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति हुन नसकेको भन्दै राप्रपाले सरकारको कार्यशैली प्रभावकारी नरहेको जनाएको छ । ‘यस्तो संकटको घडीमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भए पनि अबिलम्ब कारवाही गरिनु पर्दछ र कारवाही गरेको स्पष्ट देखिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको वैदेशिक रोजगार क्षेत्र अहिले गम्भीर संकटमा परेको उल्लेख गर्दै राप्रपाले विश्वको विभिन्न मुलुकहरुमा कार्यरत नेपालीहरु अहिले एकातिर कोरोना भाइरसको जोखिममा रहेको र अर्कोतर्फ उनीहरुको रोजगारी समेत संकटमा परेको वास्तविकतातर्फ सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्थावारे नियमितरुपले आमजनतालाई जानकारी गराउन पनि विज्ञप्तिमार्फत राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहँदै नेपाल–भारत सीमाना सम्म आईपुगेका नेपाली नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ ।
कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । ‘आफु बसेको ठाउँमा काम नपाएर, खाने बस्ने सुविधा नभएर तथा परिवारको जिम्मेवारी बोध गरेर सयौँ किमि हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई सर्वोच्च अदालतको आदेश अनुरुप प्रदेश तथा स्थानीय सरकारको सहयोगमा गन्तव्यसम्म पु¥याउन राप्रपा सरकारसँग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
























