राजनीति
कुवेतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई भने– यहाँ रहेका नेपालीलाई अप्ठ्यारो पर्न दिँदैनौं

काठमाडौं,चैत २५–
कुवेतले आफ्नो देशमा रहेका नेपालीलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा कुवेतका प्रधानमन्त्री सबाह अल–खालिद अल सबाहले आफ्नो देशमा रहेका नेपालीहरुलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी र त्यसले प्रवासी नेपालीमा पार्न सक्ने असरका विषयमा कुराकानी गर्न मंगलबार कुवेतका प्रधानमन्त्री अल सबाहसँग कुराकानी गरेका थिए ।
कुवेतका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भएको जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर ह्यान्डलमा भनेका छन्, ‘आज (मंगलबार) दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोनमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेँ । कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’
























