फिचर

नेपाल लकडाउन: प्रभावकारी बनाउन के गर्न सकिएला ?

Banner

ई.सागर कार्की-

विश्वभरी अहिले ५,५०,००० भन्दा धेरै मानिसहरु कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भईसकेको अवस्था छ र यो संख्या हरेक सेकेण्ड रकेट रेटमा बढिरहेको छ । हालसम्म २५,००० भन्दा धेरै मानिसहरुले कोभिड–१९ को कारण आफ्नो ज्यान गुमाई सकेका छन् र यो क्रम छिट्टै रोकिने अवस्थामा छैन ।

चीन, अष्ट्रेलिया, जापान, दक्षिण युरोप हुदै अहिले अमेरिकामा पनि व्यापारीक कारोबार ठप्प छ । पर्यटन, निर्माण, होटल, कल कारखाना, यातायात जस्ता व्यवसायहरु बन्द छन् । यो समय केवल ब्यवसाय र ब्यापारमा मात्रै मार परेको छैन, त्यहाँ काम गर्ने लाखौँ करोडौँ मजदुरहरुलाई पनि मार परेको छ । विश्व अर्थतन्त्र अहिले २००७–०८ को वित्तिय संकट भन्दा पनि नाजुक अवस्थामा पुगेको छ । यतिखेर अर्थतन्त्र मात्र नभई मानव जिवन समेत खतरामा रहेको हुनाले विश्वका शक्तिशाली राष्ट्रहरु कोभिड १९ को तोक निकाल्न आफ्ना सबै शक्ति लगाईरहेका छन् । सिंगो पृथ्वी नै अहिले “लकडाउन” छ ।

लकडाउन के हो ?

मानीस वा सुचनालाई सुरक्षीत राख्न अपनाईने आपतकालीन प्रोटोकल हो लकडाउन भनेको । यो प्रोटोकल अन्तर्गत देश भित्र अत्यावश्यक सेवा बाहेक कुनै पनि सवारी आवगमन र मान्छेको हिँडडुलमा समेत रोक लगाईन्छ । यदि मानीसहरु लकडाउनको समयमा आफ्नो घरमा छैनन् भने उनीहरु नजिकैको कुनै सुरक्षीत स्थानमा गई बस्नुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई माहामारी घोषणा गरेसँगैको असामान्य परिस्थितीमा सम्भावित दुर्घटनालाई कम गर्न र नागरिक सुरक्षाको तयारी स्वरुप नेपालमा पनि सरकारले चैत्र ११ गते विहान ६ बजे देखि चैत्र १८ गते बिहान ६ बजेसम्म एक साताका लागि लकडाउनको घोषण गरेको छ । यो लकडाउनको मुख्य उद्येश्य भनेको देश भित्र हुने मानिसको मुभमेन्टलाई रोक्नु हो जसकारणले देश भित्र महामारी अझ नफैलियोस् र यो नियन्त्रण भन्दा बाहिर नजाओस् भन्ने हो । लकडाउनका बिभिन्न चरणहरु हुन सक्छन् र यसको प्रोटोकल राष्ट्र अनुसार फरक हुन सक्छ ।

लकडाउन किन आवश्यक छ ?

अमेरीका विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा भएको राष्ट्र हो । त्यहाँ मार्च २८ सम्ममा १,०५,००० भन्दा धेरैमा संक्रमण देखिएको छ र १,७०० भन्दा धेरैले ज्यान गुमाई सकेका छन् । दस दिन अगाडी त्यहाँ केवल ५,००० संक्रमित थिए भने ८७ जनाको मात्र मृत्यू भएको थियो । नागरिक सुरक्षाको लागि अमेरिकामा १५ दिने सामाजिक दुरीको अभ्यास सुरु गर्दा समेत संक्रमितको संख्यामा कम हुन सकेन र यसले झन उग्र रुप लियो । अहिले अमेरिकालाई संक्रमणको हिसाबले ३ भागमा विभाजन गरि पुर्ण लकडाउन गर्नु आवश्यक बुझेर बिभिन्न तहमा बहस भईरहेको छ । चिनले वुहानमा दुई महिना अगाडी नै लकडाउन लगाएको थियो जसकारणले कुनै समय एकै दिन १४,१०८ संक्रमित भेटिएकोमा अहिले केवल ५४ नयाँ संक्रमित भेटिएका छन् र यो क्रम दैनिक घट्दै गईरहेको छ । चिनले कोरोनासँगको लडाईमा यति छिटै सकरात्मक नतिजा निकाल्नुको कारण चिनमा लगार्ईएको लकडाउनलाई नै मानिएको छ ।

कोभीड १९ को अहिलेसम्म कुनै औषधी पत्ता लाग्न सकेको छैन । नेपालमा हालसम्म कोरोनाको जम्मा ५ वटा मात्रै केस फेला परेको छ । तर छिमेकी राष्ट्र भारतमा यो संख्या १,००० पुग्न लागिसकेको छ । नेपालको जन स्वास्थ्यको अवस्था हेर्ने हो भने हामीसँग कोरोना  बिरुद्घ लड्नको लागि पर्याप्त सेवा र सुबिधाहरु छैन । यसको अर्थ हामी कोरोना बिरुद्घ लड्न तयार छैनौ भन्ने भने होईन ।

मुख्य कुरा धेरै मानिसहरु एकै पटक भाईरस संक्रमित हुनुहुदैन । यदि त्यसो भयो भने हाम्रो देशका अस्पतालहरुले धान्न सक्ने अवस्था नै छैन । संक्रमितहरुको संख्या नियन्त्रण बाहिर जान सक्दछ र अवस्था ईटलीको जस्तै भयवह हुन सक्दछ । तसर्थ अहिलेको अवस्थामा लकडाउन नै केरोना विरुद्धको एकमात्र एन्टिबायोटिक हो । लकडाउन भनेको राज्यले जनताहरु माथी गरेको विश्वास हो । जनताले साथ दिने हो भने लकडाउनको सहयोगले नै हामीले राष्ट्रलाई कोरोनाबाट जोगाउन सक्दछौ । तसर्थ हामी नागरिकले आफ्नो जिम्मेवारी वहन गर्दै यो जटिल अवस्थामा घरमा नै बसेर राज्यलाई साथ दिनुको विकल्प छैन ।

कसरी भयो नेपालमा लकडाउन ?

माघ १० गते नेपालमा पहिलो कोरोना केस देखिएको थियो । माघ १६ मा विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई अन्तराष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेसँगै नेपालमा पनि विभिन्न चरणमा यस बिरुद्घको तयारी सुरु भएको थियो । सुरुवातको समयमा अन्तरष्ट्रिय विमानस्थलमा स्किृनिङ्गका कामहरु मात्रै भएता पनि बिस्तारै अन्तराष्ट्रिय उडानहरु स्थगित गरियो । फागुन १८ मा चीन, दक्षिण कोरीया, जापान, ईटली र ईरानका सबै उडानहरु स्थगन गरिए । चैत्र १ देखि भने बिमान मार्फत हुने सबै अन्तराष्ट्रि आगमनमा रोक लगाईयो । चैत्र ५ देखि एसईई लगायत सबै युनिभर्सीटीका परिक्षाहरु स्थगन गरिए ।

चैत्र ९ गतेबाट कुनै पनि अन्तराष्ट्रिय उडानहरु नहुने घोषणा गरियो । त्यसको भोली पल्ट चैत्र १० मा सबै लामो दुरीका यातायातको सेवा स्थगित गरिनुका साथै भारत र चीनसँगका सबै नाकाहरु बन्द गरियो । होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गरियो । अति आवश्यक सेवा बाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गरियो । चैत्र १० गते नै फ्रान्स बाट आएकी १९ बर्षीय महिलामा कोरोनाको केस देखिए लगतै अग्रखाँचीमा अनिश्चितकालीन लकडाउनको घोषण गरियो । त्यसको एक दिन अगाडी मात्रै कनचनपुर र बाँकेमा लकडाउन सुरुभईसकेको थियो भने भोली पल्ट अर्थात चैत्र ११ गतेबाट पुरै नेपालभरि नै १ हप्ताको लागि लकडाउनको घोषणा गरियो ।

नेपालमा भएको लकडाउन कस्तो र किन ?

हाल अस्ट्रेलिया, ब्राजिल, डेनमार्क र मेक्सिको जस्ता बिकसित राष्ट्रहरुमा कफ्र्यु लगाईएको छ । ईजिप्टमा साँझ ७ बजेबाट बिहान ६ बजेको बिचमा पुर्ण कफ्र्यु आदेश जारि गरिएको छ । नेपाल, भारत, फ्रान्स, रोमानिया लगायतका देश भने लकडाउन छ । कफ्र्यु लकडाउन भन्दा कडा हुने गर्दछ जहाँ मानिसलाई घर बाहिर निस्कन पुर्ण प्रतिबन्ध नै लगाईन्छ र नियम उल्लंघन गर्नेलाई राज्यले कानुन अनुसार कडा कारबाही समेत गर्दछ । अधिकांश राष्ट्रले जटिल अवस्थाको तयारीको लागि जनस्वास्थ्य सुरक्षा र कम क्षतिको निमित्त राष्ट्रमा लकडाउन लागु गरिसकेका छन् ।

नेपालमा प्रभावकारी स्वास्थ्य सेवा र सुविधा छैन भन्ने कुरा त त्यतिखेर नै छर्लङ्ग भएको थियो जतिखेर कोरोनाको संक्रमण परिक्षणका लागि अस्पतालमा मानिसहरुको भिड लाग्न थाल्यो । त्यो समय नेपालसँग हप्तामा ५०० वटा मात्र कोरोना परिक्षण गर्नसक्ने क्षमता थियो र स्वास्थ्यकर्मीहरुको लागि उचित सुरक्षा कवज (पर्शनल प्रोटेक्टीभ ईक्युपमेन्ट) पनि पर्याप्त थिएन । बजारमा मास्क र सेनिटाईजरहरु अभाव हुदै गईरहेको थियो । कोरोनाको कारण विश्व नै त्रसीत बनोको बेला नेपालको तयारी भने न्युन देखिएको थियो । यस्तो अवस्थामा मानिसहरुको असुरक्षीत चहलपहल रोक्न, सम्भावित खतरालाई कम गर्न र राज्यको क्षमतालाई अझ मजबुत गर्न लकडाउनको आवश्यक्ता महसुस गरिएको हो ।

लकडाउनको समयमा सार्वजिनक स्थलहरुमा हिडडुल गर्न प्रतिबन्ध लगाइए पनि अत्यावश्यक एवं दैनिक उपभोगका समान खरिद गर्नको लागि बाहिर निस्कन पाईन्छ । त्यो बाहेकाको समय घरमा नै बस्नुपर्ने हुन्छ । तर नेपालको सन्दर्भमा भने लकडाउनलाई सुरुका केही दिनसम्म मानिसहरुले निकै सामान्य रुपमा लिएको पाईयो । लकडाउनको अर्थ बुझ्न धेरैलाई समय भने लागेकै हो, यद्यपी अझै पनि केही स्थानहरुमा यसको पुर्ण रुपमा पालना भएको देखिदैन ।

सामाजिक सञ्जाल भरि मानिसहरुले लकडाउन तोडेको र प्रहरी प्रशासनको भाटा चुटाईको भिडियोहरु यतिखेर भाईरल भईरहेका छन् । उर्लाबारीका नगरप्रमुखले त आफै लाठी लिएर लकडाउन उल्लंघन गर्नेहरूलाई कुट्दै लखेट्न समेत भ्याएछन् । प्रहरीले मल्टि फन्सनल स्टिकको प्रयोग गरि लकडाउन तोड्ने मानीसहरुलाई नयन्त्रणमा लिएको भिडियोहरु पनि देखियो । कतै केही संस्थाहरुले मानिसहरु जम्मा गरि न्युनतम दुरी नै नअपनाई मास्क, खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरिरहेको पाईयो भने साथीभाई जमघट गर्ने, खेल्ने, सारिरिक ब्यायाम, मर्निङ्ग र ईभिनिङ्ग वाल्क र अन्य सामान्य कामहरुको लागि समेत घर बाहिर निस्किने क्रम अझै रोकीएको छैन । कावासोती नगरपालिका भित्रै ३५ जना भन्दा धेरै मजदुरहरुले प्रशासनिक भवन निर्माणको काम यति खेर पनि सुचारु गरिरहेको समाचार बाहिर नआएको भने होईन ।

लकडाउन प्रभावकारी बनाउन के गर्न सकिएला ?

जब मानिसहरुलाई केही कुराको आवश्यकता पर्दछ तब उनिहरु बाहिर निस्कनु स्वभाविक नै हो । तर अनावश्यक र विना काममा समेत बाहिर निस्कने ब्यक्तिहरुका कारणले अन्य जनमानसमा समेत त्रास बढिरहेको छ । यस्तोमा प्रहरीको भाटा चुटाई ठिक पो हो कि भन्ने धेरैको बुझाई छ । तर लकडाउनलाई प्रभावकारी बनाउन भाटा चुटाई पर्याप्त हुन्छ भन्न सकिदैन । विस्तारै खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको अभाव हुदै गयो भने स्वत मानिहरु बाहिर निस्कन थाल्दछन् । त्यस्तो अवस्थामा उनीहरुलाई घरमा नै राख्न उपयुक्त योजना तथा कार्यक्रमहरुको अभ्यास गर्नु जरुरी देखिन्छ ।

छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशमा जनताहरुलाई घरभित्र नै राख्न १०,००० गाडीहरु मार्फत महत्वपुर्ण खाद्यान्न र रासनहरु होम डेलिभरी गर्ने सुबिधा नै मिलाईएको रहेछ । अधिकांश राज्यहरुमा अत्यावश्यक अनलाईन सेवालाई प्रयोगमा ल्याउन अनुमति समेत दिईएको छ । चिन, अमेरीका जस्ता राष्ट्रहरुले ड्रोन मार्फत औषधी घरमा नै पुर्याउने, ड्रोन मार्फत नै मानीसहरुको मुभमेन्टलाई ट्रेस गर्ने र ड्रोनकै प्रयोग गरि महत्वपुर्ण सुचनाहरु प्रवाह गर्ने समेत गरिरहेको छ । साथै धेरै राष्ट्रहरुले घरबाटै काम गर्नसक्ने ब्यवस्था पनि मिलाएका छन् ।

अहिले धेरै मजदुर, सुकुम्वासी, गरिब, रोगी र दुःखीहरु समस्यामा परेका छन् । एक साता लकडाउन हुदा उनिहरुलाई दैनिक भोक मेटाउन समेत गाह्रो हुने देखिन्छ । ति राहत खोज्दै बाहिर निस्कनु स्वभाविक हो । यस्तो अवस्थामा सरकारले हरेक टोल र स्थानीय तहबाट त्यस्ता ब्यक्तिहरुको पहिचान गरि उनिहरुको लागि उचित राहतको सुरक्षीत ब्यवस्था गर्न कुनै ढिलाई गर्नु हुदैन ।  समाजमा त्यस्ता मानिसहरु पनि छन् जो खराब नियत बोकेर भ्रम, त्राश र अस्थिरता सृजना गर्न नियतबस बाहीर निस्कन्छन् । उनीहरुलाई कानुन अनुरुप नै कारवाही गरिनु पर्दछ । साथै यो समय स्थानीय सरकार र हामी नागरिक अझै जिम्मेवार बन्नु जरुरी छ । यदी कोही अनावश्यक चहलपहल दिईरहेको छ, अनजान मानिस गाउँमा देखिएको छ र असामान्य गतिबिधि भईरहेको छ भने त्यस्तो अवस्थामा स्थानीय सरकारलाई जानकारी गराउनु हामी नागरीकको कर्तब्य हो ।

लकडाउनको पालना गरौँ ।

कोभिड १९ कतिखेर कसरि सर्छ ठ्याक्कै भन्न सकिदैन । यो भाईरसको वाहाक सुरुका समयमा सामान्य नै देखिन्छन् तर रोगको लक्ष्यण नै नदेखिदा पनि तिनले भाईरस सार्न सक्दछन् । ईटालीमा यसलाई सामान्य रुपमा लिने प्रयास गरियो र मानिसहरुले सामाजिक दुरी कायाम नराख्दा छोटो समयमा यो रोग महामारीको रुपमा फैलियो जसकारणले त्यहाँ करिब १०,००० मानिसले ज्यान गुमाउनु परेको छ ।

अब आफै सोचौँ, ईटली जस्तो विकशित राष्ट्र जहाँ विश्वकै उत्कृष्ट जनस्वास्थ्य सेवा छ, के हामीले उसले जस्तै जोखिम मोल्न सक्ने हैसियत राख्दछौँ ? तपाई एक जनाले लापरवाही गर्दा सिंगो परिवार, समाज र देशलाई समेत खतरा हुन सक्दछ । बरु केही दिन परिवारसँगै घरभित्रै बसौँ । थोरै असहज होला, तर हाम्रो सानो योगदानले यदि राष्ट्रलाई यति ठुलो महामारीबाट जोगाउछ भने यो असहजतालाई हामीले सामान्य रुपमा लिन सक्नुपर्दछ । नत्र बुझौँ, राष्ट्रियता हाम्रो मनमा रहेनछ, हामी नेपाली होईन रहेछौँ । (कार्की बेटर चितवनका संस्थापक संयेजक हुन)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>