देश/प्रदेश

बागमती प्रदेशसभामा विनियोजित बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ

Banner

मकवानपुर, जेठ ६-

बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो ।

बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका प्रदेशसभा सदस्यहरुले विनियोजित बजेटका सिद्धान्त प्राथमिकतामा माग लिँदै भूगोलअनुसार बजेट र योजना कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

उहाँहरूले प्रदेशका १३ जिल्लामा भौतिक पूर्वाधारको विकास र कृषिमा यान्त्रिकरण गरी उत्पादन आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई माग गर्नुभयो ।

उहाँहरुले दीर्घकालीन रूपमा वन डढेलोबाट नियन्त्रण, सीमान्तकृत समुदाय चेपाङ, दलित, आदिवासी जनजातीको स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको लागि प्रत्यक्ष अवसर जुटाउने योजना तर्जूमा गरी कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो ।

यसैगरी सवारीचालक अनुमतिपत्र लिने प्रक्रिया सहज बनाउन, प्रविधिको प्रयो गरी राजस्व सङ्कलन गर्न, पर्यटन, वनस्पति र मौसमी जडीबुटीको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने खालका कार्यक्रम ल्याउन पनि उहाँहरूले आग्रह गर्नुभयो ।

यस्तै काठमाडौँ उपत्यकाको फोहरलाई नुवाकोटको बञ्चरे डाँडामा डम्पिङ गरी राख्दा वातावरण प्रदूषण हुन गई नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको प्रति पनि उहाँहरूले चिन्ता व्यक्त गर्नुभयो ।

बैठकमा प्रदेश सभाका सदस्य डा दिनेशचन्द्र देवकोटा, लक्ष्मी घिमिरे, बसन्तमान मानन्धर, रामप्रसाद ढुङ्गाना, इन्द्र सापकोटा, राजु विष्ट, प्रभात तामाङ, इन्द्रप्रसाद गोतामे, मधुकुमार श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ, डम्बर तामाङ, रमेशकुमार महत, देवेन्द्र श्रेष्ठ, रामकुमार पहाडी, हरिशप्रसाद सापकोटा, आशा लामा, भुवन केशरी श्रेष्ठ, सूर्यचन्द्र लामिछाने, इन्द्र चौलागाईँ, कन्चनबादे श्रेष्ठ, तीर्थ लामा, मायादेवी शर्मा, राजेन्द्र प्रजापति र सुष्मा भुजेल न्यौपानेलगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक भोलि जेठ ७ गते बिहान ११ बजे छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>