चितवन विशेष
चितवनमा रक्तदान गर्न प्रेरित गर्दै न्यौपाने दम्पती, वैवाहिक वर्षगाठमा गरे रक्तदान कार्यक्रम

चितवन, जेठ ५–
चितवनका एक दम्पतीले रगत अभावलाई परिपुर्ती गर्न अभियान सुरु गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने र शुशीला गौतम न्यौपानेको जोडीले वैवाहिक वर्षगाठको अवसर पारेर रक्तदान अभियान थालेका हुन् ।
उनीहरुले पहिलोपटक वैवाहिक वर्षगाठमा रक्तदान कार्यक्रम गरेर अभियानको सुरुवात गरेका हुन् । दुवैजनाले रक्तदान गरेर सुरुवात गरिएको कार्यक्रममा एक सय जनाले रक्तदान गरेका छन् । शुभ कार्यमा सबैलाई रक्तदान गर्न प्रेरणा दिने उद्देश्यले रक्तदान अभियान थालिएको न्यौपानेले जानकारी दिए । न्यौपानेले आफ्नो बुवाको निधन भएको १३औं दिनको पूण्यतिथिमा पनि रक्तदान कार्यक्रम गरेका थिए । माडी निवासी न्यौपानेले गाउँ–गाउँमा रक्तदान अभियान समेत चलाइरहेका छन् ।
वैवाहिक वर्षगाठनमा रक्तदान कार्यक्रम गर्न भएकोमा गर्व महसुस भएको शुशीला गौतम न्यौपानेले बताइन् । उनले सबैलाई सामाजिक सेवामा प्रेरणा प्रदान गर्न रक्तदान कार्यक्रम गरिएको बताइन् ।
ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष चितवनमा रगत अभाव हुन नदिन यसैगरि सचेतनामुलक कार्यक्रमहरु हुँदै जानुपर्ने बताए । उनले सकरात्मक सन्देश र सहकार्य गर्न सके चितवनमा रगत अभाव नहुने दावी गरे । उनले रक्तदान गर्न प्रेरित गर्न सोसाइटीले विभिन्न किसिमका कामहरु गरिहेको बताए ।
मेडिकल सिटीको रुपमा परिचित चितवनमा गर्मीको बेलामा अत्याधिक मात्रामा रगत अभाव हुने गरेको छ । अहिले पनि चितवनमा दैनिक रुपमा १५० यूनिट रगत चाहिन्छ । तर माग अनुसारका आपूर्ती गर्न नसकिएको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए । उनले गर्मीको बेलामा रक्तदान कम हुनुको साथै युवा पुस्ताको बढ्दो विदेश पलायनले रक्त अभाव बढ्दो क्रममा रहेको बताए । चितवनमा साना तथा ठूला अस्पतालहरु रहेकाले बिरामीको चाप पनि बढ्दो क्रममा रहेको छ ।
























