गण्डकी

पोखरामा मृत्यु भएका पुरुषमा कोरोना नभएको पुष्टि

Banner

चिप्लेढुङ्गा, चैत १५–

भारतबाट आएका एक पुरुषको केही दिन अघि पोखरामा मृत्यु भएपछि धेरैमा उनमा कोरोना भाइरस (कोभिड–१९)को आशंका गरेका थिए । तर उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ अर्थातमा उनमा कोरोना नभएको पुष्टि भएको छ ।

कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका विश्वमोहन नेपालीको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको हो । एघार दिनअघि भारतको हैदराबादबाट आएका नेपालीेलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । दम, रक्तचाप, मुटुलगायतका बिरामी नेपालीले पाँच प्रकारका औषधि सेवन गरिरहेका थिए ।

उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा न बाटामै मृत्यु भएको थियो । उनको मृत्युमा धेरैले कोरोनाको शंका गरेका थिए । गाउँपालिकाले बिहीबार नेपालीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु अस्पताल पठाएको थियो । शुक्रबार आएको नेपालीको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्टअनुसार मृतक नेपालीमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणको आशंकामा गण्डकी प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशमा नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले जानकारी दिए। उनले बाँकीको रिपोर्ट केही दिनमा आउने बताए ।

कीटनाशक औषधि छर्कदै पोखरा

कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केने कार्यलाई तीव्रता दिएको छ । बिहीबारदेखि महानगरको न्युरोडस्थित कार्यालयबाट औषधि छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै शहीदचोकसम्मको सडकमा औषधि छर्केको स्वास्थ्य महाशाखाका सिनियर अहेव अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
लेकसाइड र हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पस गेट, शिक्षा कार्यालयचोक लगायत ठाउँमा औषधि छरिएको आचार्यले बताए । विशेष गरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा औषधि छरिएको छ । महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँ, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौतारालगायत सडकका ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिने बताए । प्रमुख जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरवासीलाई अनुरोधसमेत गरेका छन् । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>