नवलपुर

नवलपुरका २८ हजार बढी बालबालिकालाई भोलिबाट दादुरा–रुवेला खोप लगाइने

Banner

ज्ञानु पंगेनी

नवलपुर, चैत २-

सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त गरिने अभियान अन्तर्गत नवलपुरमा भोलिदेखि दादुरा—रुवेला खोप लगाउने अभियान सुरु हुँदैछ ।
जिल्लामा खोप लगाउने उमेरका २८ हजार ८४१ जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व (नवलपुर) का प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए ।

यो अभियानअन्तर्गत पहिलो चरणमा चैत ३ गतेदेखि ११ गतेसम्म जिल्लाको पाँच स्थानीय तहमा अभियान सञ्चालन हुँदैछ । जसमा कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने दोश्रो चरण अन्तर्गत चैत १६ गतेदेखि २४ गतेसम्म गैँडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउपालिकामा अभियान सञ्चालन हँुदैछ ।

अभियानका लागि आवश्यक सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले जानकारी दिए । पहिलो चरणको अभियान सञ्चालन हुने पाँच वटै स्थानीय तहमा भ्याक्सिन पुगिसकेको छ भने आवश्यक जनशक्ति पनि तयारी अवस्थामा रहेको र खोपका लागि आवश्यक पर्ने सामग्री सुरक्षितरुपमा राखिएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताए ।  जिल्लामा ३७९ वटा खोप केन्द्रमा अभियान सञ्चालन हुनेछ । अभियानका लागि २२९ वटा खोप केन्द्र थप गरिएको छ । नियमित रुपमा १५० वटा खोप केन्द्र जिल्लामा सञ्चालन भइरहेका छन् । अभियानमा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा—रुवेला खोप लगाइने छ ।

खोप लगाउने कार्यक्रम भोलि बिहान १० बजेबाट सबै स्थानीय तहमा एकैसाथ सुरु हुने चापागाईले बताएका छन् । यो अभियानमा छुटेका बालबालिकालाई घरदैलो अभियान गरेर खोप लगाउने कार्य नहुने भएकाले पहिलो पायक पर्ने स्थानमा गएर आफ्ना बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन चापागाईले आग्रहसमेत गरेका छन् ।

सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुवेला खोप कभरेज ९५ प्रतिशत बढी पु¥याई दादुरा रुबेला निवारण गर्ने उद्देश्य राखेको छ । खोप अभियानलाई सफल बनाउन जिल्लाका स्थानीय तहले समेत तयारी तीव्र पारेको जनाएका छन् । सबै स्थानीय तहमा ‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम समेत भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>