राजनीति
बामदेव गौतम राष्ट्रिय सभामा जाने पार्टीको निर्णय कार्यान्वयन हुन्छः सुरेन्द्र पाण्डे

चितवन, फागुन १७–
नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र पाण्डेले बामदेव गौतम राष्ट्रिय सभामा जाने पार्टी सचिवालयको निर्णय कार्यान्वयन हुने बताउनुभएको छ । आज भरतपुरमा संचारकर्मीसंग कुरा गर्दै नेता पाण्डेले सो कुरा बताउनुभएको हो । पछिल्लो समय सत्तारुढ दल नेकपा भित्र अहिले बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयले माहोल तातेको छ । बामदेव राष्ट्रिय सभा हुँदै मन्त्री बन्नेसम्मको चर्चा चलेपछि सर्वत्र आलोचना समेत भइरहेको छ । उहाँले कुनै व्यक्ति राष्ट्रिय सभाको सदस्य बने पनि मन्त्री बन्ने कुनै संवैधानिक व्यवस्था नभएको प्रष्ट पार्नुभयो ।
नेता पाण्डेले निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधी सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने सम्वैधानिक व्यवस्था भएकोले राष्ट्रिय सभामा सांसद बने पनि मन्त्री हुन नसक्ने बताए । उनले भने–‘संविधानको धारा ६८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ ।’
जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको नेता पाण्डेको भनाई छ । संविधान संसोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नैं भंग गरिएको नेता पाण्डेको भनाइ छ ।
























