राजनीति
प्रधानमन्त्री ओलीले बाँस्कोटाको बचाउ गर्दै भने:‘भ्रष्टाचार भएकोजस्तो गरी प्रचार गर्नु जरूरी छैन’

काठमाडौं, फागुन १५-
घुस मागेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसा बाँस्कोटाको प्रधानमन्त्री केपी शर्मा ओलीले बचाउ गरेका छन्।
बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले राजीनामा दिएको बताए।
‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ। केही प्रमाण छैन,’ ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त अडिओ मेरो होइन भन्नुभएको छ। सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ। ’
उनले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरे।
‘भ्रष्टाचार भएकोजस्तो गरी प्रचार गर्नु जरूरी छैन,’ प्रधानमन्त्रीले भने,‘दोष भए उहाँले सजाय भोग्नु पर्छ। अहिलेसम्म उजुरी परेको छैन।’
उनले कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको तर त्यो उजुरी पत्रु भएको बताए।
‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ। त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो,’ ओलीले भने।
सेक्युरिटी प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले गत बिहीबार राजीनामा दिएका थिए।
























