राजनीति
संसदमा कांग्रेसको प्रश्न – श्रीपेच लगाएका कम्युनिस्ट मित्रलाई के भन्दै होलान मदन भण्डारी ?

काठमाडौं, फागुन १३-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका काण्ड लाजमर्दा भएको बताएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसनका लागि गरेको मोलमोलाइ, नेपाल ट्रष्टको जग्गा मनलाग्दी रूपमा यति कम्पनीलाई दिने र बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रभावित पार्ने काम लाजमर्दा भएको बताए ।
प्रधानमन्त्री ओलीको जन्मदिनको तामझाम देखेर जन्मघरले पनि चिनेन होला भन्दै उनले भने, ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्यो होला ।’
‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’
‘कमिसन धेरै आउने नाममा मन्त्रीले ठेक्का रकम बढाएको सुनिन्छ । सञ्चार मन्त्रालयमै खर्बौंका ठेक्का थिए । अप्टिकल फाइबर, थ्रीजी, फोरजी, स्याटेलाइट सबैमा भ्रष्टाचार छ,’ रिजालले भने,‘त्यही भएर अरू सबै तुलोको एकातिर गोकुल बाँस्कोटा एक्लै अर्कातिर भनेको होला ।’
प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए । उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’
उनले यति हुँदा पनि प्रधानमन्त्री ओली राजामहाराजाले जसरी जन्मोत्सव मनाउन व्यस्त रहेको बताए।
























