समाचार
गोकुल बाँस्कोटाको सम्पत्ति कति ?

काठमाडौं, फागुन १२-
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको छ । सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो ।
बुधबार उक्त अडियो विभिन्न सञ्चारमाध्यमलाई दिइएको थियो । मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका थिए ।
बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिक भएको हो ।
अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै विहीबार बाँस्कोटाले पदबाट राजीनामा बुझाएका थिए ।
बाँस्कोटाको सम्पत्ति कति ?
बाँस्कोटाले सुरुमा राज्यमन्त्रीको रुपमा नियुक्त भएपछी नियुक्ति पाएको करिब २ महिनापछि अर्थात् २०७५ साल बैशाख ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका थिए ।
बाँस्कोटाले त्यतिबेला श्रीमती तारादेवी बाँस्कोटाको नाममा भक्तपुरको लोकन्थलीमा १२१.२४ वर्गामिटर क्षेत्रफल बराबरको जग्गा रहेको जनाएका छन् ।
यो सम्पत्ति उनले पुख्र्यौंली सम्पत्ति बेचेर किनेको विवरणमा उल्लेख छ । त्यस्तै, बाँस्कोटाको आफ्नै नाममा बनेपामा १२७.१८ वर्गमिटर (४ आना), श्रीमतीकै नाममा साविकको देवभूमि बालुवामा १०४८.४८ वर्गामिटर (२ रोपनी), साविकको नयाँगाउँ देउपूरमा ३ ओटा कित्तामा रहेको ८ रोपनी ३ आना ३ पैसा जग्गा रहेको जनाइएको छ ।
बनेपाको जग्गा ३ लाखमा खरिद गरेको र अरु सम्पत्ति पैतृक भएको विवरणमा उल्लेख छ । अचल सम्पत्ति बाहेक बाँस्कोटासँग १७ तोला सुन, ६० तोला चाँदी तथा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामा समेत गरी २१ लाख ७५ हजार २९० रुपैंया नगद रहेको जनाइएको छ ।
त्यस्तै छोरालाई नर्वे पठाउन कुबेर सापकोटा र विष्णु खनालसँग १५ लाख रुपैंया ऋण लिएको देखाइएको छ भने टिभी, आईफोन र ल्यापटपसहित १ लाख ८० हजार रुपैंया बराबरको तीनओटा इलेक्ट्रोनिक ग्याजेट रहेको र यि ग्याजेटहरु साथीभाईबाट उपहार प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ ।


























